

गृह मन्त्रालयले मंसिर ४ गते हुने निर्वाचनमा ढुक्क भएर मतदान गर्न आम मतदातालाई आग्रह गरेको छ ।
भौतिक तथा हिंसात्मक गतिविधिमा संलग्न जो कोहीमाथि कडा निगरानी राखिएको उल्लेख गर्दै मन्त्रालयले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने विश्वास दिलाएको छ ।
निर्वाचनको पूर्व तयारीबारे मन्त्रालयद्वारा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता विनोद प्रकाश सिंहले कर्मचारी, मतदाता र मतपत्रको सुरक्षामा खतरा पुर्याउने व्यक्ति दलरसमूह र संगठनमाथि कडा निगरानी राखिएको बताए ।
उनले भने, ‘विगतभन्दा धेरै राम्रो निर्वाचन सुरक्षा व्यवस्था गरेका छौं । सम्पूर्ण मतदातालाई उत्साहपूर्वक मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु ।’
मन्त्रालयको सुरक्षा तयारीबारे जानकारी दिँदै उनले भने, ‘केही दिनयता केही हिंसात्मक गतिविधिहरू देखिएका छन् । यस्ता खालका गतिविधिमा संलग्न व्यक्ति, समूह र संगठनप्रति हामी ‘शून्य सहनशीलता’मा छौं । हामीले सूक्ष्म अनुगमन र कडा निगरानी गरिरहेका छौं ।’
प्रवक्ता सिंहका अनुसार मतदान केन्द्र नजिक ९०३ स्थानमा नेपाली सेनाको बम बिस्फोटक टोली खटाइएको छ । इजाजत प्राप्त र अवैध २ हजार २५ थान हातहतियार संकलन भएको छ । ४० वटा स्थानमा हेलिकप्टरबाट मतपत्र ढुवानी गर्ने व्यवस्था गरिएको छ ।
नेपाली सेनाको हेलिकप्टर इटहरी, बर्दिवास, पोखरा र सुर्खेतमा तयारी अवस्थामा राखिएको छ भने हवाई गस्ती समेत गरिरहेको छ ।
गृह मन्त्रालयका अनुसार देशभर अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुुसन्धान विभाग र म्यादी प्रहरी गरी २ लाख ९८ हजार ५७९ जनशक्ति परिचालित भएका छन् । मतदानस्थलको संवेदनशीलता अनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
अर्थ सन्जाल