बागमती प्रदेश सरकारले सार्वजनिक यातायातमा भाडा २३ प्रतिशतले बढाएको छ । न्युनतम १८ रुपैयाँ कायम गर्दै काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी भाडा तोकिएको हो ।
काठमाडौं उपत्यकाभित्र संचालन हुने सार्वजनिक सवारी साधनको हकमा भने न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ३५ रुपैयाँसम्म भाडा कायम गरिएको छ ।
१८ रुपैयाँ भाडा ५ किलोमिटर दुरीसम्मका लागि हो । पाँच किलोमिटर भन्दा कम दुरीको यात्रा गरे पनि १८ रुपैयाँ नै तिर्नुपर्ने छ । १० किलोमिटरसम्मको दुरीमा यात्रा गर्दा २३ रुपैयाँ, १५ किलोमिटरसम्मको २७ रुपैयाँ, २० किलोमिटरसम्मको ३० रुपैयाँ र २० किलोमिटरभन्दा बढी दुरीको लागि ३५ रुपैयाँ भाडा तिर्नु पर्नेछ ।
बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशतले भाडा वृद्धिको निर्णय गरेको हो । डिलक्स सुविधा भएका गाडीले भने यसमा पनि थप २० प्रतिशत बढी भाडा लिन पाउने छन् ।
यात्रुहरुले १५ किलोसम्मको सामानको भाडा तिर्नु पर्ने छैन । तर १५ किलोभन्दा बढी १० केजीसम्म सामानको प्रतिकिलो ५ रुपैयाँको दरले थप भाडा तिर्नु पर्ने निर्णय मन्त्रालयले गरेको छ ।
सरकारले गरेकाे भाडा वृद्धि कम भएको भन्दै यातायात व्यवसायीले भने असन्तुष्टि जनाएका छन् । यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले विज्ञप्ति जारी गरी अहिलेको भाडा दर पुनरवलोकन नभए आफैं भाडा बढाउने चेतावनी दिएका छन् । अहिलेको भाडा दर पुनरावलोकन नभए महासंघले आफैले सातवटै प्रदेशमा भाडा समायोजन गरी लागु गर्ने चेतावनी दिएको छ ।