चाडपर्वलाई लक्षित सहुलियत पसल : ४५ स्थानमा सञ्चालन, कुन सामान कति पाइन्छ छुट ?

सरकारले चाडपर्वलाई लक्षित गर्दै हिजो (असोज १ गते) देखि देशका विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । सरकारी मातहतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पारेसन र दुग्ध विकास संस्थानले दशैँ, तिहार र छट पर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याएको हो ।

उक्त सहुलियत पसल डेढ महिना अर्थात् कात्तिक १५ गतेसम्म सञ्चालनमा आउनेछन् ।

के-के सामानमा छुट पाइन्छ ?

खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ र दुग्ध विकास संस्थानसहितको सहभागितामा सञ्चालन हुने सुपथ पसलमा चामल, चिउरा, गेडागुडी, तेल, दाल, मैदा, आँटा, नुन, पनिर, घ्यु, खसी बोका र च्याङ्ग्रालगायत बिक्रीमा हुनेछन् । यसअघि चिनीसहितका खाद्य वस्तुमा छुट दिँदै आएकोमा यसपटक भने चिनी बाहेकका खाद्यन्नमा मात्रै छुट दिने बताइएको छ । सहुलियत पसलमा बिक्री हुने खाद्य सामग्रीमा दुई रुपैयाँदेखि ५० रुपैयाँसम्म छुटको व्यवस्था गरिएको छ ।

के सामग्री कति छुट ?

सुपथ पसलमा विभिन्न ३० प्रकारका खाद्यवस्तु बिक्रीका लागि राखिएको छ ।  चामल, दाल, आटा, मैदा, चिउरा र खाने तेलमा प्रतिकिलो तथा प्रतिलिटरमा सात रुपैयाँ छुट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीले बताइन् । अन्य खाद्यान्नमा प्रतिकिलो/लिटर १० रुपैयाँसम्म छुट दिइएको छ । दुग्ध विकास संस्थान डीडीसीले दशैँ तिहार, छठमा घिउमा प्रतिलिटर ५० रुपैयाँ चीजमा प्रतिकिलो २० रुपैयाँ, पनिरमा २० रुपैयाँ र दहीमा प्रतिलिटर १० रुपैयाँ छुट दिएको छ  ।

साल्ट ट्रेडिङले बेच्ने नुनमा प्रतिकिलो २ रूपैयाँ, चिउरा प्रतिकिलो ७ रुपैयाँ र तेलमा प्रतिलिटर ७ रुपैयाँ छुट दिएको छ।

घिउ र चिनी छैन

चाडपर्वमा बेला चिनी र घिउ पनि अत्यधिक खपत हुने गर्छ । तर यस वर्ष सहुलियत पसलमा घिउ र चिनी राखिएको छैन । चिनी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री आइरहेको छ भने डीडीसीले घिउमा छुट दिएर बेच्दै आएको छ । तर यस वर्ष यी दुवै वस्तुको अभाव भएकोले सहुलियत पसलमा राखिएको छैन ।

साल्ट ट्रेडिङले चिनी सहुलियतमा आयात गर्नको लागि सरकारको स्वीकृति लिनुपर्ने हुन्छ । स्वीकृतिका साल्ट ट्रेडिङले पटक पटक पत्र पठाए पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयले स्वीकृत नगर्दा मौज्दात नहुँदा बिक्री गर्न नसकेको हो ।

सहुलियत चिनी आयात गर्न स्वीकृतिको आपूर्ति मन्त्रालयले जेठ २४ मा अर्थ मन्त्रालयमा पत्र पठाएको थियो। साल्ट ट्रेडिङका लागि ४० हजार टन र खाद्य कम्पनीका लागि १० हजार टन चिनी आयात गर्न सहमति मागे पनि अर्थ मन्त्रालयले सहमति नदिँदा यस वर्ष चाडपर्वका लागि सहुलियत चिनी अभाव भएको हो ।

दुधको अभाव भएकोले गर्दा यसवर्ष घिउ अभाव हुँदा सहुलियत पसलमा घिउ नराखिएको डीडीसीले जनाएको छ ।

घटस्थापनादेखि खसीबोका भित्र्याउने

दशैँमा मासु अपरिहार्य नै छ । दशैँमा सबैको घरमा मासु पाक्ने गर्छ । दशैँलाई लक्षित गर्दै यस वर्ष करिब १८ सय खसीबोका भित्र्याइदै छ ।  खाद्य कम्पनीका अनुसार यस वर्ष करिब ५ सय च्यांग्रा बिक्री गर्ने तयारी रहेको छ । घटस्थापनादेखि खसीबोका भित्र्याउने तयारी गरेको विभागले घटस्थापनाको भोलिपल्टदेखि खसीबोका बिक्री गर्ने योजना बनाएको छ ।

दशैँका लागि दाङ, हेटौंडा र धादिङ लगायतका देशका विभिन्न ठाउँबाट खसीबोका ल्याउनेछ। च्यांग्रा भने दार्चुलाबाट ल्याउने तयारी भइरहेको छ । च्यांग्रा मुस्ताङबाट ल्याउने भनिए पनि सम्भव नभएपछि  दार्चुलाबाट ल्याउने तयारी गरिएको विभागले जनाएको छ।

४५ स्थानमा सुपथ पसल   

राजधानी काठमाडौंसहित ४१ जिल्लाका ४५ स्थानमा सुपथ पसल एकै पटक सञ्चालनमा ल्याइएको छ । काठमाडौँको थापाथली, रामसाह पथ, ललितपुरको नक्खु र भक्तपुरको सूर्य विनायकमा सुपथ पसल सञ्चालन गरिएको छ ।

प्रत्येक दिन दैनिक बिहान ८ बजेबाट बेलुकी ७ बजेसम्मसम्म सहुलियत पसल सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।  टाढाका सेवाग्राहीलाई अनलाइन बिक्रीको व्यवस्था मिलाइएको छ । चाडपर्वका बेला हुनसक्ने महँगी र कालोबजारी नियन्त्रण गरी जनतालाई सहुलियत दिने उद्देश्यका साथ सरकारले प्रत्येक वर्ष चाडपर्व लक्षित सुपथ पसल सञ्चालन गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *