आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राजनीतिक दलहरु यतिबेला कसरी जित आफ्नो पोल्टामा पार्न सकिन्छ भनेर दाउ हेर्दै तीव्र तयारीमा छन् । निर्वाचन आयोगले आगामी आइतबार र सोमबार ९असोज २ र ३ गते समानुपातिकतर्फको उम्मेदवार मनोनयनका लागि बन्दसूची पेश गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ । त्यसका लागि सबैजसो दलहरु समानुपातिक उमेदवारमा सिफारिस भएर आएका नामहरूलाई सूचीकृत गर्न लागिपरेका छन् ।
तल्लो तहमा सर्वसहमत भएका उम्मेदवार निक्कै कम छन् । जसकारण धेरै आकांक्षी देखिएका ठाउँबाट पार्टीका तल्लो कमिटीले सबै आकांक्षीको नाम केन्द्रमा सिफारिस गरेका छन् । नाम सिफारिस भइसकेपछि यतिबेला टिकट हात पार्न माथिल्लो तहमा उम्मेदवारका आकांक्षीहरु पनि लबिङ व्यस्त छन् । नेतृत्वलाई रिझानउ उनीहरु जोडतोडले लागिपरेका छन् ।
जिल्लाबाट नाम सिफारिस भइ चौतर्फी लविङको चटारोमा रहेका एक आकांक्षी सन्दीप राना पनि हुन् । जो पाल्पा निर्वाचन क्षेत्र नं:१ बाट कांग्रेसको समानुपातिक सूचीमा परेका व्यक्ति हुन् । पाल्पाबाट कांग्रेस महासमिति सदस्य रहेका उनी अहिले टिकटमा बाजी मार्न बालुवाटारमा निकै सक्रिय देखिन्छन् ।
चुनाव नजिकिँदै गर्दा नेताहरुको यस्तो सक्रियतालाई स्वभाविक रुपमा लिइए पनि सन्दीपले गरेको दौडधुपलाई भने पार्टीकै नेताहरुले अस्वभाविक रुपमा अर्थ्याएका छन् । कारणः आवरण्मा उनी कांग्रेस नेता भए पनि, भारतीय गृहमन्त्री अमित साहका सचिवालयमा कार्यरत कर्मचारी हुन् ।
जिल्लाबाट पार्टीमा लामो सयम योगदान दिएका नेताकार्यकर्तालाई उछिनेर सिफारिस सूचीमा अटाएका उनी केन्द्रबाट पनि अनुमोदन भएर प्रतिनिधिसभा प्रवेश गरे भने समग्र मुलुककै लागि यो घातक हुन सक्ने कांग्रेसकै नेताहरुको विश्लेषण छ ।
‘भारतले निर्वाचनमा आफ्ना एजेन्टहरुलाई कांग्रेसको समानुपातिक सूचीमा अटाएर टिकटका लागि लविङ गराइरहेको छ’, कांग्रेसकै एक नेता भन्छन्, ‘नेतृत्वलाई यसबारे कम जानकारी हुनसक्छ । तर यसले गर्दा देशको सर्वाभौमिकता र भौगोलिक अखण्डता स्वतन्त्रता र अटल स्वाभिमानमा समेत खतरा पैदा हुन सक्छ भने पार्टीका लागि पनि यो राम्रो हुँदैन ।’ भारतले खुलेआम रुपमा नेपाली भूमि मिच्दा समेत कोहि सांसद र नेताहरुले बोल्न डराइरहेका अवस्थामा यसरी भारतले खुलमखुला संसदभित्रै एजेन्ट प्रवेश गराउने गरी परिचालन गर्नु दुर्भाग्य भएको उनले बताए ।
‘विगतमा हामीले सुनिन्थ्यो, नेपालको मन्त्रिपरिषद्मै भारतीय रादूतावासका प्रतिनिधि सहभागी हुन्थे रे । अहिले फेरि संसदभित्र भारतीय एजेन्ट प्रवेश गरे भने हाम्रो अवस्था के हुन्छ ?’, उनी प्रश्न गर्छन् । उनका अनुसार सन्दीपले आफूलाई नेपाल–भारत सम्बन्धको व्याख्यायता दाबी गर्छन् । उनका हिजोदेखिका गतिबिधि र उनको भारतसंगको सम्बन्ध नजिकबाट नियालेका एक कांग्रेस नेताका अनुसार नेपाली भएपनि उनीको कार्यशैलीले उनी नेपाली कम भारतीयनै ज्यादा देखिन्छन् ।
यसले नेपालको सार्वभौमिकतासँगै पार्टीमासमेत यसले फाटो ल्याउने उनी बताउँछन् । ‘पार्टीमा वर्षौंदेखि योगदान गरेका नेता–कार्यकर्ताहरु छन्’, ती कांग्रेस नेता भन्छन्, ‘पार्टीमा अलिकति पनि योगदान नदिएका उनलाई टिकट दिँदा अग्रज नेता तथा कार्यकर्ताको अपमान हुने त भयो नै निराशा समेत छाउँछ ।’ यसर्थ सन्दीप रानालाई कांग्रेसले टिकट दियो भने पार्टी र देश दुवैका लागि घातक हुने उनी बताउँछन् ।




