विश्व बैंकको प्रक्षेपणः नेपाल सरकारको लक्ष्यभन्दा कम आर्थिक बृद्धि

नेपालको आर्थिक बृद्धिदर सरकारले लिएको लक्ष्य भन्दा कम हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षमा सरकारले राखेको बजेटमा ७ प्रतिशत आर्थिक बृद्धिको लक्ष्य लिएपनि बैंकले ३.९ प्रतिशत मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

विश्व बैंकले बिहीबार ‘साउथ एसिया इकोनोमी फोकस’ सार्वजनिक गर्दै गत वर्ष १.८ प्रतिशत मात्र आर्थिक वृद्धि भएको अनुमान सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षमा अर्थतन्त्र ४.७ प्रतिशतले विस्तार हुने अनुमान विश्व बैंकको छ । आर्थिक वर्ष ०७६/०७७ मा कोरोना महामारीले गर्दा आर्थिक वृद्धि २.१ प्रतिशतले ऋणात्मक भएको थियो ।

कोभिडविरुद्धको खोपको संख्या बढ्न थालेसँगै नेपालको अर्थतन्त्र क्रमिक रुपमा सुधार हुन थालेको विश्व बैंकको विश्लेषण छ । यस्तै पर्यटन र आप्रवासी श्रमिकको चहलपहल पनि बढ्न थालेको कारण आर्थिक क्रियाकलापमा पुनरुत्थानको संकेत देखिन थालेको बैंकले जनाएको छ ।

यस्तै संकटमा पर्यटन क्षेत्र विस्तारै खुल्न थालेको र विदेशबाट प्राप्त हुने रेमिट्यान्स आप्रवाह पनि बढ्ने आधारमा यो लक्ष्य प्रक्षेपण गरेको बैंकले आज सार्वजनिक गरेको इकोनोमिक फोकसमा उल्लेख गरिएको छ । यो वर्ष थप १.८ प्रतिशत अर्थतन्त्र विस्तार हुने बैंकको अनुमान छ । यद्यपि कोरोना जोखिम कायम रहेको बैंकले औंल्याएको छ ।

नेपालमा कोरोना महामारीका कारण डिजिटल सेवाको व्यापक वृद्धि हुँदा दोहोरो अंकमा विद्युतीय भुक्तानीको कारोबार बढेको बैंकले जनाएको छ । सेवा क्षेत्रमा भइरहेको वृद्धिले नेपालको अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।

चालू आर्थिक वर्षमा दक्षिण एसियाको आर्थिक वृद्धि औसत ७ प्रतिशत हुने अनुमान विश्व बैंकले गरेको छ । माल्दिभ्सको चालू आर्थिक वर्षमा ११ प्रतिशतले आर्थिक विस्तार हुने अनुमान बैंकको छ । गत वर्ष माल्दिभ्सको २२.३ प्रतिशत थियो । अघिल्लो वर्ष अर्थतन्त्र विस्तार ३३ प्रतिशतले ऋणात्मक भएको थियो ।

यस्तै भारतको ७.५, श्रीलंकाको २.१, बंगलादेशको ६.४, भुटानको ३.६ र पाकिस्तानको ३.४ प्रतिशतले आर्थिक वृद्धि हुने अनुमान बैंकले गरेको छ । दक्षिण एसियामा भुटान, श्रीलंका र पाकिस्तानको भन्दा नेपालको आर्थिक वृद्धि बढी हुने अनुमान विश्व बैंकको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *