मुलुकलाई आत्मनिर्भर बनाउँछौँ । आयातलाई निरुत्साहित गरेर स्वदेशी वस्तुलाई प्राथमिकता दिन्छौँ भन्ने भाषण हामीले धेरै पहिलेदेखि नै सुन्दै आएका छौँ । तर आयात बढ्दै जाँदा मुलुक व्यापार घाटा भने डरलाग्दो बन्दै गइरहेको अवस्था छ ।
आयातमा आधारित अर्थतन्त्रलाई हामीले उकास्न सकेका छैनौं । नेपालले वर्षेनी खर्बौं रुपैयाँको वस्तु तथा सेवाको आयात गर्ने गरेको तथ्यांकले नेपाल परनिर्भरतामा धकेलिएको कुरालाई पुष्टि गर्छ । पछिल्लो समय नेपालको आयातसँगै परनिर्भरता पनि बढ्दो छ ।
चालू आर्थिक वर्षको पछिल्लो एक महिना (साउन)मा मात्रै नेपालले एक खर्ब ३१ अर्बभन्दा बढी रुपैयाँ वस्तु तथा सेवा आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
आयातमा कडाइ गरेको कारण अघिल्लो वर्षको सोही अवधिको तुलनामा वस्तु तथा सेवाको आयातमा भने गिरावट आएको छ । अघिल्लो वर्षको सोही अवधिमा एक खर्ब ५० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यो त एक महिनाको तथ्यांक हो । अघिल्लो आर्थिक वर्ष २०७८/७९ को तथ्यांक हेर्ने हो भने नेपालले झन्डै २० खर्ब रुपैयाँको वस्तु आयात गरेको छ । गत आर्थिक वर्षमा नेपालले १९ खर्ब २० अर्ब रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो । बढ्दो आयातले नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब पुर्याएको थियो ।
यही कुराबाट पनि नेपालको अर्थतन्त्र आयातले नै थेगेको कुरा पुष्टि हुन्छ । विलासितादेखि अत्यावश्यक वस्तु समेत आयात हुने गरेको पछिल्लो तथ्यांकहरुले देखाएको छ । यही उत्पादनको प्रचुर सम्भावना रहेको वस्तु समेत अर्बौं रुपैयाँको आयात हुने गरेको छ ।
तर नेपालमा पनि केही वस्तुहरु छन्, जसमा आत्मनिर्भर छ ।
यी वस्तुहरुमा नेपाल आत्मनिर्भर
नेपालमा आत्मनिर्भर हुन सक्ने औद्योगिक वस्तुहरुको विस्तृत अध्ययन प्रतिवेदन–२०७८ अनुसार चिनी, सिमेन्ट, छड तथा फलामका डण्डी, जुत्ता, चप्पल, केही औषधि, जस्तापाता, चिया, दूध र मासु उत्पादनहरूमा नेपाल आत्मनिर्भर छ ।
मुलुकमा उत्पादनको कमीका कारण व्यापार घाटा बढ्दै गएको भएपनि केही माथी उल्लेखित वस्तुहरुमा भने मुलुकले परनिर्भर हुनु पर्दैन ।
उद्योग विभाग र अन्य एजेन्सीहरूद्वारा आत्मनिर्भर हुनसक्ने औद्योगिक वस्तुहरू जस्तै चिनी, सिमेन्ट र फलामका डण्डी पहिले नै अध्ययन गरि सकिएको छन् भने ह्याचेरी र कुखुरा पालन व्यवसायलाई पनि आत्मनिर्भर उद्योगहरूको रूपमा लिइन्छ ।
त्यस्तै, उत्पादन र खपतका आधारमा, दुध, मासु, माछा, चिया, पिठो (पिठो ÷ सूजीसहित), मसला, पेन्ट, फलाम, जिंक पाता, कागज, ईंटा, हरियो तरकारी, फर्निचर, साबुन ÷ सर्फ, सुर्तीजन्य उत्पादन, अल्कोहलीक पेय पदार्थ, तार र कन्डक्टरहरू, एचडीपीई पाइप र जीआई पाइपहरु पनि नेपालमा आत्मपर्याप्तता र आत्मनिर्भर भएको दाबी गरिएको छ ।
आत्मनिर्भरता के हो ?
कुनै देशको आत्मनिर्भरतालाई पूर्ण आयातमा निर्भर बिना सम्पूर्ण आवाश्यक वस्तुहरू र सेवाहरूको उत्पादनको रूपमा परिभाषित गर्न सकिन्छ । अर्को तर्फ आत्मनिर्भरतालाई आफ्नो देशको अवस्थाको रूपमा पनि परिभाषित गर्न सकिन्छ जहाँ स्वदेशी उत्पादित वस्तुहरू र सेवाहरूको आन्तरिक मागको अन्तरलाई निर्यातको माध्यमबाट विदेशी विनिमय आर्जनद्वारा पूरा गरिन्छ ।
यसको मतलव कुनै देशको घरेलु स्रोतसाधन र प्रतिस्पर्धी शक्तिको आधारमा विदेशी मुद्रा कमाउन सक्छ । उदाहरणका लागि यदि देशमा धान उत्पादन बढि छ भने त्यसलाई निर्यातको गर्ने र गहुँ कम उत्पादन हुने भए आयात गरी ब्यापार सन्तुलन गर्न सकिन्छ । त्यसैले सम्पूर्ण व्यापार र भुक्तानी प्रणाली, तुलनात्मक व्यापार सिद्धान्त तर्कहरूको आधारमा बाह्य सहयोग वा ऋणको रूपमा कुनै देशको बाह्य निर्भरता आउँदैन भन्ने सुनिश्चितता हुन्छ ।
दिनहुँ नेपालमा बढ्दो व्यापार घाटा कम गर्न, स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर उत्पादन बढाउन, विदेशबाट कच्चा पदार्थ आयात गरी तयार पारिएको घरेलु माग पूरा गर्न, रोजगारी सिर्जना गरेर गरीबी निवारण गर्न र राष्ट्रिय अभियानको मूर्त रुप दिन “समृद्ध नेपाल, सुखी नेपाली” र औद्योगिक क्षेत्रमा लगानी बढाउन पनि आत्मनिर्भरताको आवश्यक छ ।
आत्मनिर्भर उद्योग भनेको कुनै पनि उद्योग जसले देश भित्रको माग पूरा गर्ने सामानहरू उत्पादन गर्दछ र ती उद्योगहरू जसले आयातलाई प्रतिस्थापन गर्दछ । त्यस्ता उद्योगहरूले राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका खेल्छन्।
स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गरी औद्योगिक तथा कृषि क्षेत्रमा क्रान्ति ल्याउने हो भने नेपाल पनि धेरै कुराहरुमा आत्मनिर्भर हुने प्रचुर सम्भावना छ ।




