सुदूरपश्चिममा बैंकहरूको निक्षेप खर्ब नाघ्यो, बढी कर्जा प्रवाह कैलालीमा

नेपाल राष्ट्र बैंकको धनगढी कार्यालयले गरेको प्रादेशिक आर्थिक गतिविधिसम्बन्धी अध्ययनमा २०७८ असारसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप २०७७ असारको तुलनामा २०.२२ प्रतिशतले वृद्धि भई १ खर्ब ९ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो निक्षेप २९.५४ प्रतिशतले वृद्धि भएको थियो ।

प्रदेशभित्र बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ३६.२० प्रतिशतले वृद्धि भई १ खर्ब २७ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो कर्जा १८.७२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४७.२५ प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् २.८१ रहेको छ ।

कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८.८२ प्रतिशत र बाजुरा जिल्लाकोअंश सबैभन्दा कम ०.९४ प्रतिशत रहेको छ ।

२०७८ असार मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा वाणिज्य बैंकका ३१७, विकास बैंकका ४६, वित्त कम्पनीका ६ तथा लघुवित्त वित्तीय संस्थाका ४०८ गरी जम्मा ७ सय ७७ शाखा सञ्चालनमा रहेका छन् । यसमध्ये कैलाली जिल्लामा सबैभन्दा बढी ३४४ तथा बाजुरा जिल्लामा सबैभन्दा कम २६ शाखा सञ्चालनमा रहेको प्रतिवेदनले औँल्याएको छ ।
बैंकको कर्जामध्ये सेवा क्षेत्रमै बढी कर्जा प्रवाह भएको छ । सेवा क्षेत्रमा प्रवाह गरेको कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६२ प्रतिशतले बढेर ८६ अर्ब २६ करोड पुगेको छ । यसैगरी कृषि क्षेत्रमा प्रवाहित कर्जा २०७७ असार मसान्तको तुलनामा ४७.६३ प्रतिशतले वृद्धि भई १२ अर्ब ८ करोड पुगेको छ ।

बैंकको कर्जामध्ये ८६ प्रतिशत सेवा क्षेत्रमा र ९ प्रतिशत कृषिमा प्रवाह भएको अध्ययनमा पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *