पछिल्लो समय वाणिज्य बैंकहरूले तरलता अभावकै वावजुद निक्षेप संकलन भन्दा कर्जा लगानीमा जोड दिएका छन् । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार वाणिज्य बैंकहरूले निक्षेपको तुलनामा कर्जा लगानी ३ गुणा भन्दा बढीले विस्तार गरेका छन् ।
कर्जा लगानीमा जोड दिएका बैंकहरुले असोज पहिलो साताको तथ्यांक अनुसार निक्षेप संकलन भदौ मसान्तको तुलनामा ९ अर्ब रुपैंयाँले मात्रै बढाएका छन् । बैंकहरूले यस अवधिमा ३१ अर्ब रुपैंयाँ कर्जा प्रवाह गरेका छन् ।
भदौ मसान्तमा वाणिज्य बैंकहरूले ४१ खर्ब ७१ अर्ब रुपैंयाँ निक्षेप संकलन गरेकोमा असोज पहिलो साता भने यस्तो निक्षेप संकलन ४१ खर्ब ८० अर्ब रुपैंयाँ पुगेको छ । यो अवधिमा बैंकहरूको कर्जा लगानी भने ३८ खर्ब ७२ अर्ब रुर्पैंयाँबाट ३९ खर्ब ३ अर्ब पुगेको बैंकर्स संघले असोज ८ गतेसम्मको तथ्यांकमा देखाएको छ ।
बैंकहरूमा चालू आर्थिक वर्ष लागेपछि घटेको निक्षेप पूर्ति हुने लक्षण अझै नदेखिएको एक बैंकरले बताए । उनका अनुसार वाणिज्य बैंकहरूमा असार मसान्तमा ४२ खर्ब १ अर्ब रुपैंयाँ निक्षेप रहेकोमा असोज ८ सम्ममा आइपुग्दा ४१ खर्ब ८० अर्ब रुपैंयाँमा झरेको छ ।
साउन मासान्तमा यस्तो निक्षेप ४१ खर्ब २३ खर्ब रुपियाँ पुगेको थियो भने भदौ मसान्तमा ४१ खर्ब ७१ अर्ब रुपैंयाँ पुगेको पनि तथ्यांकले देखाएको छ ।
असार मसान्तमा बैंकहरूको कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैंयाँ थियो । यस्तो कर्जा लगानी साउन मसान्तमा ३७ खर्ब ६४ अर्ब र भदौ मसान्तमा ३८ खर्ब ७२ अर्ब पुगेको बैंकर्स संघको तथ्यांकले देखाएको छ ।
प्रकाशित : १२ आश्विन २०७८, मंगलबार