नागरिकता विधेयक, विपद् व्यवस्थापन र मूल्यवृद्धिबारे सांसदको प्रश्न

प्रतिनिधिसभाका सांसदहरूले मूल्यवृद्धि, लामो समयदेखि संसद्मा अड्किएर बसेको नागरिकता विधेयक र विपद् व्यवस्थापनका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बिहीबार बसेको बैठकको शून्य समयमा बोल्दै उनीहरूले नागरिकसँग प्रत्यक्ष जोडिएका ती विषयमा जनधनको सुरक्षा तथा सहज जीवनयापनका लागि उचित कदम चाल्न सभामुखमार्फत सरकारसँग आग्रह गरे।

उनीहरूले राजधानी काठमाडौंमै हैजाका बिरामी देखिएको बताउँदै उचित तवरबाट फोहोर व्यवस्थापन गर्नसमेत माग गरेका छन्। शून्य समयमा सांसद लालप्रसाद साँवा लिम्बूले विपद् व्यवस्थापन र आपतकालीन उद्धारको पूर्व तयारी कार्यलाइ चुस्त पार्न ध्यानाकर्षण गराए। सांसद लालबाबु पण्डितले दुई लाख ५० हजार युवा नागरिकताविहीन भएर पहिचानको खोजीमा रहेको बताए।

उनले नागरिकता विधेयक फाष्ट ट्र्याकबाट पारित गरी नागरिकता वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्। सङ्घीय निजामति विधेयक फिर्ता गर्नु सङ्घीयताको मर्म विपरीत भएकाले राज्य व्यवस्थाबाट पारित भएको उक्त विधेयकलाई संसद्मा ल्याई पारित गर्न पनि उनले आग्रह गरे।

सांसद विनाकुमारी श्रेष्ठले कोही पनि नेपाली नागरिकता लिनबाट वञ्चित नहोस् र कोही पनि विदेशीले नागरिकता नपाओस् भन्नेतर्फ सचेत हुन आग्रह गर्दे गरिन्। सरकारलाई उनले प्रश्न गरिन्, ‘नेपाली छोराछोरी अनागरिक भएर बस्नुपर्ने कहिलेसम्म ?’ नागरिकता नहुँदा बैंकमा खाता खोल्नदेखि विदेशमा पढ्नसमेत जान नपाएको उनले गुनासो गरिन्। उनले भनिन्, ‘नागरिकता नहुँदा बैंक खाता खोल्न पाएका छैनन्, विदेशमा पढ्न जान पाएका छैनन्, विदेशमा काम गर्न जान पाएका छैनन्, वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नपरोस्, छिटो व्यवस्थापन होस्।’

सांसद विशाल भट्टराईले मध्यपहाडी पुष्पलाल लोकमार्गलगायतका सडक सुस्तगतिमा काम भएको भन्दै छिटो अघि बढाउन आग्रह गरे। सांसद सत्या पहाडीले जाजरकोटलगायत केही स्थानीय पालिकामा बैंकका शाखा नखुल्दा सामाजिक सुरक्षा भत्तासमेत प्राप्त गर्न नसकेको बताइन्। सांसद सरिता न्यौपानेले उपत्यकाको फोहोरमैला व्यवस्थापनमा जोड दिइन्। सांसद विनादेवी बुढाथोकीले काठमाडौंमा हैजाका बिरामी देखिएको भन्दै फोहर व्यवस्थापन गर्न आग्रह गरिन्।

सांसद लक्ष्मीकुमारी चौधरीले मूल्यवृद्धिले हातमुख जोर्न धौ–धौ भइरहेका बेला रुस र युक्रेनको युद्धलाई दोष थोपरेर पन्छिन नपाउने बताइन्। उनले पनि नागकिरता विधेयक छिटो सदनमा ल्याउन माग गरिन्। सांसद लक्ष्मी परियारले बाढीपहिरो बढ्दो क्रममा रहेकाले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटेर नागरिकलाई सरकार भएको अनुभूति दिलाउन अनुरोध गरिन्।

सांसद हीरा गुरुङले महंगीले ढाड सेकिसकेको भन्दै नारिकलाई कति सास्ती दिने हो ? भन्दै प्रश्न गरिन्। उनले बजारमा मनोमानी दरभाउ बढ्दो क्रममा रहँदा पनि सरकार मौन बसेको आरोप लगाइन्। शून्य समयमा सांसदहरु समिना हुसेन, लालबहादुर थापा, विन्दा पाण्डे, सीताराम महतो, विमला विश्वकर्मा, शरिताकुमारी गिरी, सत्यनारायण शर्मा खनाल, सूर्यनारायण यादव र सञ्जयकुमार गौतमलगायतले धारणा राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *