

काठमाडौंको कीर्तिपुरमा सात करोड रुपैयाँ मूल्य पर्ने जग्गा किर्ते गरी बिक्री गर्ने गिरोह पक्राउ परेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले ठगी कार्यमा संलग्न पाँच जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा दार्चुला घर भई हाल काठमाडौंको टोखा बस्ने ५६ वर्षीय महावीर चन्द, सिन्धुपाल्चोक घर भई हाल ललितपुर सुनाकोटी बस्ने ४१ वर्षीय गणेश बहादुर खनाल, सोलुखुम्बु घर भई बूढानीलकण्ठ–२, भंगाल बस्ने वर्ष ४० को बाबुराम कार्की, नुवाकोट घर भई हाल काठमाडौं बनस्थली बोहराटार बस्ने वर्ष ४६ को प्रेम प्रसाद खनाल र काठमाडौंको साविक काभ्रेस्थली घर भइ हाल बनस्थली बस्ने ममता भन्ने वर्ष ५८ की डासी माया श्रेष्ठ रहेका छन्।
उनीहरुले जापानमा बसेको व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको कीर्तिपुरमा रहेको ११ आना २ पैसा जग्गा बिक्री गरेको खुलेको छ । सीआईबीका प्रवक्ता एसपी श्यामकुमार महतोका अनुसार २०५५ सालदेखि जापानमा बस्दै आएकी शान्तिदेवी लोहनीको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ७ करोड पर्ने जग्गा एक गिरोहले नक्कली कागजपत्र बनाएर बिक्री गरेको हो । शान्तिदेवीको नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाएर र नक्कली श्रीमान खडा गरेर जग्गा बिक्री गरेको पाइएको महतोले बताए ।
प्रहरीले उनीहरुबाट नक्कली नेपाली नागरिकताका प्रमाणपत्र चार थान, जग्गाधनी पुर्जा, लिखतको प्रतिलिपि, नक्कली तारानिधी लोहनीको नामको जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी, अन्य व्यक्तिको नामको नक्कली जग्गाधनी पुर्जा, विभिन्न व्यक्तिको नाममा जारि भएका जग्गा धनी दर्ता श्रेस्ता लगायत पनि बरामद गरेको छ।
अर्थ सन्जाल