नेपाली सेनाले भन्यो : ‘तत्कालीन प्रधानसेनापति क्षत्रीले अमेरिकालाई लेखेको पत्र आधिकारिक’

तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले अमेरिकालाई लेखेको पत्र आधिकारिक भएको नेपाली सेनाले पुष्टि गरेको छ ।

२०७२ सालमा एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले सरकारको नेतृत्व गरिरहेकै समयमा नेपाली सेनाका प्रधानसेनापति क्षेत्रीले अमेरिकी सैन्य सहकार्य ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी) का लागि अनुरोध गरेको पत्र आधिकारिक भएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुष्टि गरेका हुन् ।

सैनिक प्रवक्ता नारायण सिलवालले उक्त पत्र शतप्रतिशत आधिकारिक रहेको बताएका हुन्।

‘नेपालमा भूकम्प गएर ठूलो धनजनको क्षति भएको  बेला हामीले संसारबाट सहयोग लिनु परेको थियो । नेपालमा विदेशी सैनिकहरु आएर हामीलाई सहयोग गरेका थिए । त्यस बेलामा नेपाली सेनाले विदेशी सैनिकहरुलाई संयोजन गरेको थियो ।’ उनले भने

उनले पत्रमा त्यसबारेमा प्रस्ट पारिएको समेत बताए । ‘त्यसबेला हामीलाई थप मबजुद बनाउन अमेरिकासँग सहयोग लिन सकिन्छ  भन्दा विपद् व्यवस्थापनको क्षेत्रमा सहकार्य गर्न सकिन्छ भन्ने भयो, त्यहीअनुसार पत्राचार भएको थियो, ‘पत्राचार पनि नेपाल सरकारको स्वीकृति लिएर भएको हो र त्यसको मूल उद्देश्य विशुद्ध पेसागत दक्षतालाई अभिवृद्धि गराउनु हो ।’ ’ उनले भने

प्रवक्ता सिलवालले सरकारसँग स्वीकृति लिएरमात्र निश्चित कामहरु सेनाले गरेको उल्लेख गर्दै पत्राचार गर्दा कुनै एलाइन्स वा सम्झौता गर्छु भनेर केही पनि उल्लेख नभएको बताए । ‘यो निःसर्त सहयोगका लागि गरिएको पत्राचार थियो । त्यस बेलाको अवस्थामा इन्डो-प्यासिफिक रणनीति आइसकेको थिएन ।

उनले सेनाले बुधबार जारी गरेको विज्ञप्ति यथावत रहेको पनि बताए । सिलवालले नेपाली सेनाले एसपीपीसम्बन्धी कुनै पनि सम्झौता वा समझदारी नेपाली सेनाले अमेरिकी सरकार वा सेनासँग नगरेको र त्यस्तो प्रक्रियासमेत नभएको फेरि प्रस्ट पारे ।

आगामी दिनमा त्यस्तो सम्झौता नहुने  स्पष्ट पार्दै  सेनाले भन्यो , ‘सार्वजनिक भएको भनिएको सम्झौताका विषयमा नेपाली सेनालाई कुनै जानकारी छैन । अहिलेसम्म एसपीपीका विषयमा कुनै सम्झौता भएको छैन,’ प्रवक्ता सिलवालले भने ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *