काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज (आइतबार) राति १२ बजेदेखि अनिवार्य रूपमा सडक दस्तुर तिर्नुपर्ने भएको छ। नेपाल राजपत्रमा प्रकाशित दरअनुसार काठमाडौं भित्रिने र बाहिरिने सबै सवारीसाधनले फरक–फरक शुल्क बुझाउनुपर्नेछ।
नागढुंगा सुरुङमार्ग आयोजना प्रमुख इन्जिनियर सौजन्य नेपालका अनुसार सवारीसाधनको वर्गीकरणका आधारमा दस्तुर निर्धारण गरिएको हो। निर्धारित दरअनुसार साना कार, जिप, भ्यान तथा माइक्रोबसले काठमाडौं भित्रिँदा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।
त्यस्तै, ठूला सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्दा काठमाडौं भित्रिने दिशामा ६०० रुपैयाँ र बाहिरिने दिशामा २५० रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ।
सुरुवाती चरणमा सवारीचालकले नगद वा क्यूआर कोडमार्फत दस्तुर भुक्तानी गर्न सक्नेछन्। आगामी दिनमा भने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन (आरएफआईडी) कार्ड तथा ट्याग प्रणाली लागू गर्ने तयारी गरिएको आयोजना प्रमुख नेपालले जानकारी दिए। उक्त प्रणाली लागू भएपछि सवारीसाधनको पहिचान गरी स्वचालित रूपमा दस्तुर संकलन गर्न सकिनेछ।
दस्तुर संकलनका लागि सुरुङमार्गमा सेवा प्रदायक कम्पनीका कर्मचारी परिचालन गरिनेछ। यसरी संकलन भएको रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुनेछ।
दस्तुर संकलनको सञ्चालन तथा अनुगमन सडक बोर्ड नेपाल र सडक विभागले गर्नेछन्। सडक दस्तुर लागू भएपछि नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनको यात्रा खर्चमा थप शुल्क जोडिने भएको छ।




