हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई साविककै पदमा पुनर्बहाली गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ।बुधबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलमा बोलाएको हो।

मन्त्रिपरिषद्को २०८१ चैत ११ गतेको निर्णयअनुसार प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका शाक्यलाई सरकारले २०८२ असोज ५ गते पदबाट हटाएको थियो। त्यसविरुद्ध शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले २०८२ मंसिर २२ गते सरकारको निर्णय बदर गर्दै शाक्यलाई पुनः कार्यकारी निर्देशक पदमा बहाल गर्न परमादेश जारी गरेको थियो। अदालतको आदेशपछि शाक्य पुनः कामकाजमा फर्किएका थिए।

तर, त्यसपछि सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ को व्यवस्थाअनुसार शाक्य पुनः पदमुक्त भएका थिए। उक्त अध्यादेशअनुसार उनलाई गत वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *