काठमाडौँ।  संविधान जारी भएको १० वर्ष पूरा हुँदै गर्दा प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको नियमनबारे बहस पनि तीव्र हुन थालेको छ। संविधानले पूर्ण प्रेस स्वतन्त्रता, विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सञ्चारको हक, सूचनाको हक र गोपनीयताको हक सुनिश्चित गरे पनि त्यसअनुसार आवश्यक कानुनी संरचना निर्माण हुन नसकेको गुनासो कायमै छ।

arthasanjal-cg-hero

प्रेस काउन्सिलसम्बन्धी कानुन पनि संविधानभन्दा पुरानो छ। २०४८ सालको ऐनलाई संशोधन वा पुनर्लेखन गर्ने बहस लामो समयदेखि चल्दै आए पनि नयाँ कानुन निर्माणले पूर्णता पाउन सकेको छैन। पछिल्लो समय सरकारले काउन्सिलसम्बन्धी कानुन निर्माणको प्रक्रिया अघि बढाउन थालेको छ।

यही सन्दर्भमा सञ्चार क्षेत्रमा स्व–नियमनको अवधारणालाई प्रभावकारी बनाउने बहस आवश्यक देखिन्छ। स्व–नियमनको अर्थ प्रेसलाई नियन्त्रण गर्नु नभई सञ्चारमाध्यम र पत्रकारले आफ्ना सम्पादकीय नीति, आचारसंहिता र व्यावसायिक सीमा आफैं तय गरी त्यसको पालना गर्नु हो।

नेपालमा पत्रकार आचारसंहिता र प्रेस काउन्सिलको व्यवस्था भए पनि सञ्चार संस्थाले आफ्ना सम्पादकीय नीति सार्वजनिक गर्ने तथा पाठक–दर्शकका गुनासा सम्बोधन गर्ने अभ्यास अझै संस्थागत हुन सकेको छैन।

राज्यको प्रत्यक्ष हस्तक्षेपभन्दा सञ्चारमाध्यम, पत्रकार, उपभोक्ता, विज्ञापनदाता, नागरिक समाज र विज्ञको सहभागितामा स्वतन्त्र संयन्त्रमार्फत प्रेसको उत्तरदायित्व सुनिश्चित गर्ने बहस आवश्यक छ। पश्चिमा मुलुकमा अभ्यासमा रहेको ‘एम्बुड्सपर्सन’ जस्ता संयन्त्रलाई पनि नेपालमा लागू गर्न सकिने विकल्पका रूपमा हेरिएको छ।

प्रेस स्वतन्त्रताको रक्षा गर्दै सञ्चारमाध्यमलाई जिम्मेवार र विश्वसनीय बनाउने उद्देश्यले अब स्व–नियमनलाई बहसबाट व्यवहारमै लैजानुपर्ने आवश्यकता देखिएको छ।