सबैलाई समेटेर महाधिवेशन गर्न जस्तोसुकै लचकता अपनाउन तयार छु: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको विवाद र मतभेदलाई थाती राखेर १५औँ महाधिवेशनमा सबै पक्षलाई समेट्न आफू आवश्यक लचकता अपनाउन तयार रहेको बताएका छन्। पूर्वसभापति शेरबहादुर देउवासहित वरिष्ठ नेताहरूलाई महाधिवेशनमा सहभागी हुन आग्रह गर्दै उनले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने अवस्था नरहेको बताएका हुन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै थापाले महाधिवेशनलाई एकताबद्ध रूपमा सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नुपर्ने सबै पहल गर्ने बताए।

‘अब हामीले छुट्टाछुट्टै महाधिवेशन गर्नुपर्ने कुनै कारण वा अवस्था छैन। सबैलाई एकै ठाउँमा जोडेर महाधिवेशन सम्पन्न गरौँ,’ उनले भने, ‘पार्टीको जिम्मेवारीमा रहेकाले सबैलाई समेटेर अघि बढ्न मेरो तर्फबाट गर्नुपर्ने जुनसुकै पहल र आवश्यक लचकता अपनाउन म तयार छु।’

महाधिवेशनलाई लिएर कांग्रेसभित्र पूर्वसभापति देउवा पक्ष र थापा नेतृत्वको पक्षबीच मतभेद देखिएको छ। देउवा पक्षले थापा नेतृत्वको विशेष महाधिवेशनबाट आएको केन्द्रीय कार्यसमितिलाई मान्यता नदिएको भन्दै छुट्टै प्रक्रियाबाट महाधिवेशन अघि बढाउने धारणा राख्दै आएको छ। थापा पक्षले भने पूर्वकेन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई वर्तमान कार्यसमितिमा समेटेर महाधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गर्दै आएको छ।

थापाले पूर्वसभापति देउवासहित पार्टीका वरिष्ठ नेताहरूलाई महाधिवेशनमा सहभागी भएर पार्टी एकताको सन्देश दिन आग्रह गरे। महाधिवेशनलाई सबै पक्षको सहभागितामा सम्पन्न गर्न वातावरण बनाउन आफूले पहल गर्ने उनको भनाइ छ।

थापाले महाधिवेशन व्यवस्थापन समितिको संयोजकको जिम्मेवारीसमेत आफूले सम्हाल्ने जानकारी दिए। छोटो समयमै महाधिवेशन सम्पन्न गर्नुपर्ने भएकाले केन्द्रीय समितिका सदस्यलाई व्यवस्थापनको काममा सहयोग गर्न उनले आग्रह गरे।

‘आज महाधिवेशनको व्यवस्थापन समिति मेरो संयोजकत्वमा बनाउने निर्णय भएको छ। छोटो समय भएकाले जिल्ला तथा तल्लो तहमा नजाई व्यवस्थापनको काममा मसँगै बसेर सहयोग गरिदिन केन्द्रीय समितिका साथीहरूलाई अनुरोध गर्न चाहन्छु,’ उनले भने।

महाधिवेशनका लागि आवास, भोजनलगायतका व्यवस्थापन गर्न विभिन्न समिति गठन गरेर काम अघि बढाइने उनले बताए। यसअघि पनि थापाको अध्यक्षतामा १५औँ महाधिवेशनका लागि मूल व्यवस्थापन समिति गठन भइसकेको थियो।

महाधिवेशनपछि भ्रातृ संस्थालगायत पार्टीभित्रका अन्य विषयमा समेत सबै पक्षसँग सरसल्लाह गरेर अघि बढ्ने निर्णय भएको थापाले बताए।

उनले पार्टीभित्रका असहमति र असन्तुष्टिलाई संवाद तथा सहमतिबाट सम्बोधन गर्दै महाधिवेशनलाई एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *