संघीय निजामती सेवा ऐन नबन्दा कर्मचारीतन्त्र अन्योलमा : पूर्वसचिव भण्डारी

काठमाडौं । संघीयता कार्यान्वयन भएको झन्डै एक दशक पुग्न लाग्दा पनि संघीय निजामती सेवा ऐन जारी हुन नसक्दा कर्मचारीतन्त्र अन्योल, निरुत्साह र वृत्ति विकासको संकटमा परेको नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले बताएका छन्।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा भण्डारीले कानुनी अनिश्चितता, पर्याप्त तालिम र सामाजिक सुरक्षाको अभावमा संघीय शासन प्रणालीले अपेक्षाअनुसार सेवा प्रवाह गर्न नसक्ने बताएका हुन्। उनका अनुसार संघीय संरचनाअनुसार कर्मचारी प्रशासन पुनर्संरचना गर्ने काम लामो समयदेखि थाती रहँदा कर्मचारीको मनोबल कमजोर भएको छ।

तीन तहको सरकारअनुसार कर्मचारीको वृत्ति विकास, पदोन्नति र कार्यप्रणालीलाई समयानुकूल बनाउन नसकिएको उनले बताए। कर्मचारीलाई आफ्नो सेवा जीवनबारे स्पष्टता आवश्यक रहेको भन्दै उनले भने, ‘कति समय कहाँ काम गर्ने, कहिले बढुवा हुने, कस्ता सुविधा पाउने र भविष्य के हुने भन्ने निश्चितता कर्मचारीलाई चाहिन्छ।’

अवकाश र सरुवाको बहसले असुरक्षा

अवकाश उमेर, सेवा अवधि र सरुवासम्बन्धी विरोधाभाषी बहसले कर्मचारीमा असुरक्षा बढाएको भण्डारीको भनाइ छ। संघीय निजामती सेवा विधेयकमा अवकाश उमेर ६० वर्ष प्रस्ताव भइरहेका बेला ५५ वर्षमै अवकाश गराउने चर्चा चल्नुले कर्मचारीमा थप अन्योल सिर्जना गरेको उनले बताए।

यसकै कारण केही कर्मचारीले स्वेच्छिक रूपमा सेवा छाडेको हुन सक्ने उनको अनुमान छ।

बहुमतको सरकार बनेपछि कर्मचारी प्रशासनमा व्यापक सुधार हुने अपेक्षा गरिए पनि त्यो पूरा हुन नसकेको उनले बताए। ‘झन्डै दुई तिहाइको सरकार बनेपछि सेवा वितरण प्रभावकारी हुन्छ, कर्मचारी प्रशासनमा नयाँ बाटो खुल्छ भन्ने विश्वास थियो, तर त्यो देख्न पाइएन,’ उनले भने।

भण्डारीले कर्मचारी प्रशासनलाई राजनीतिभन्दा कम महत्त्व दिने प्रवृत्तिले पनि मनोबल घटाएको बताए। सरकार नीति निर्माण गर्ने र कर्मचारीले त्यसको कार्यान्वयन गर्ने भएकाले सार्वजनिक सेवामा दुवैको भूमिका उत्तिकै महत्त्वपूर्ण हुने उनको भनाइ छ।

मन्त्रालय घटाउँदा वृत्ति विकासमा असर

सरकारले मन्त्रालयको संख्या २१ बाट १८ मा सीमित गर्ने निर्णयलाई उनले सरकारको अधिकारको विषय माने पनि यसले कर्मचारीको वृत्ति विकासमा असर पार्न सक्ने बताए।

मन्त्रालयको संख्या घट्दा सचिव, सहसचिव र उपसचिवका पद तथा अवसर सीमित हुने भएकाले पदोन्नतिको सम्भावना प्रभावित हुने उनको भनाइ छ। यद्यपि मन्त्रालय घटेकै कारण दैनिक प्रशासनिक कामकाजमा ठूलो समस्या नपर्ने उनले स्पष्ट पारे।

संघीयता कार्यान्वयनपछि कर्मचारीतन्त्रलाई नयाँ शासन प्रणालीअनुकूल बनाउन उच्चस्तरीय प्रशासनिक पुनर्गठन आयोग गठन नगर्नु ठूलो कमजोरी भएको भण्डारीले बताए।

उनका अनुसार सिंहदरबारका उच्च अधिकारीले संघीय प्रणाली बुझे पनि दुर्गम क्षेत्रमा कार्यरत कर्मचारीलाई पर्याप्त प्रशिक्षण नदिँदा संघ, प्रदेश र स्थानीय तहबीच कार्यक्षेत्रको दोहोरोपन अझै देखिएको छ।

प्रस्तावित विधेयकमा केही सकारात्मक व्यवस्था

संसद्मा पेस हुने तयारीमा रहेको संघीय निजामती सेवा विधेयकमा केही सकारात्मक व्यवस्था समेटिएको भण्डारीले बताए।

विधेयकमा निजामती सेवाको उद्देश्य स्पष्ट गर्ने, आरक्षणमा क्लस्टरिङ गर्ने, नेतृत्व मूल्यांकनको व्यवस्था, निजामती सेवा बोर्ड गठन तथा अधिकृतभन्दा माथिका कर्मचारीको मासिक कार्यसम्पादन मूल्यांकनजस्ता प्रावधान रहेको उनले उल्लेख गरे।

तर यी व्यवस्थाले मात्रै संघीय कर्मचारी प्रशासन सक्षम नबनाउने उनको धारणा छ। सेवा प्रवेशको उमेर पुनर्विचार, कम उमेरमै कर्मचारी भर्ना गरी व्यवस्थित तालिम दिने तथा सहायक तहका कर्मचारीका लागि अनिवार्य तालिम पुनः सुरु गर्नुपर्ने उनले सुझाव दिए।

स्वास्थ्य, सामाजिक सुरक्षा, बालबालिकाको हेरचाह तथा आर्थिक र गैरआर्थिक सुविधामा सुधार नगरेसम्म कानुनले मात्रै कर्मचारीतन्त्र रूपान्तरण गर्न नसक्ने उनले बताए।

‘मानवीय संवेदनाबिना निजामती सेवा सुधार हुँदैन’

भण्डारीले कर्मचारीलाई केवल तलब–भत्ताका आधारमा काम गर्ने जनशक्तिका रूपमा हेर्न नहुने बताए। कर्मचारीको वृत्ति विकास, सामाजिक सुरक्षा, परिवारको शिक्षा–स्वास्थ्य र अवकाशपछिको जीवनलाई समेत राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

३० वर्षभन्दा बढी सेवा गरेर ६० वर्षमा अवकाश पाउने कर्मचारीको अवकाशपछिको जीवन सुरक्षित बनाउन राज्यले आवश्यक व्यवस्था गर्नुपर्ने उनले बताए। ‘अवकाशपछि नयाँ काम सुरु गर्न सहज हुँदैन। त्यसैले जीवन निर्वाहको आधार राज्यले सुनिश्चित गर्नुपर्छ,’ उनले भने।

पदोन्नति प्रणालीसमेत तथ्यांक र वैज्ञानिक विश्लेषणमा आधारित हुनुपर्ने उनले बताए। एक तहबाट अर्को तहमा पुग्न सात वर्ष लाग्ने र त्यसपछि अर्को तहमा पुग्न १४ वर्षसम्म लाग्ने अवस्था देखिएको भन्दै उपलब्ध जनशक्ति, उमेर र सेवा अवधिको विश्लेषण गरेर पदोन्नति प्रणाली पुनर्विचार गर्नुपर्ने उनको सुझाव छ।

सरुवा र तालिम प्रणाली सुधार्नुपर्ने

कर्मचारी सरुवा प्रणालीलाई वैज्ञानिक बनाउनुपर्नेमा भण्डारीले जोड दिए। हिमाल, तराई र राजधानीमा कार्यरत कर्मचारीबीच अवसरको असमानता हटाउन नसकिए त्यसको असर कार्यक्षमतामा पर्ने उनले बताए।

कर्मचारीलाई नियमित तालिम, अध्ययन र फेलोसिपका अवसर उपलब्ध गराउनुपर्ने उनको सुझाव छ। ‘विश्वविद्यालयको पढाइ पूरा गरेर सेवामा आएपछि मात्रै काम गर्न सकिँदैन,’ उनले भने, ‘सरकारले आवश्यक सीपका लागि देशभित्र र विदेशमा अध्ययनका अवसर दिनुपर्छ।’

कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषमा रहेको बचतलाई कर्मचारीको सामाजिक सुरक्षामा प्रभावकारी रूपमा उपयोग गर्न सकिने पनि उनले बताए। शिक्षा, स्वास्थ्य तथा आवासका क्षेत्रमा यी संस्थाले थप भूमिका खेल्नुपर्ने उनको भनाइ छ।

दुर्गममा काम गर्ने कर्मचारीलाई समान अवसर

पदोन्नति र अवसर वितरणमा पहुँचका आधारमा हुने विभेद अन्त्य गर्नुपर्ने भण्डारीले बताए। नेतृत्वको नजिक भएकाले छिटो पदोन्नति हुने र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारी पछि पर्ने अवस्था रहे कर्मचारी प्रशासन प्रभावकारी हुन नसक्ने उनको भनाइ छ।

संघीय निजामती सेवा ऐनमा स्वास्थ्य बीमा, सामाजिक सुरक्षा र सेवा–सुविधाका व्यवस्था समेटिए पनि त्यसलाई निष्पक्ष र समान रूपमा कार्यान्वयन गर्न सके मात्रै कर्मचारीको मनोबल र सार्वजनिक सेवा प्रवाहमा सुधार आउने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *