काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवागढी जलविद्युत् आयोजना (आरएचपीएल) को सुरुङमा नेपाली सेनाको टोलीले गरेको खोजी कार्यमा कुनै पनि मानिस फेला नपरेपछि टोली फर्किएको छ ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका गरिएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित खोजी अभियान सञ्चालन गरिएको थियो ।
खोजीका क्रममा उद्धार टोली सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेको थियो । त्यहाँ ड्रोनसमेत उडाएर विस्तृत रूपमा निरीक्षण गर्दा पनि मानवीय उपस्थिति नभेटिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सुरुङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएपछि नेपाली सेनाको टोली रसुवाको सदरमुकाम धुन्चेतर्फ फर्किएको हो ।
भोटेकोशीमा आएको बाढीका कारण आयोजनामा क्षति पुगेपछि सुरुङभित्र समेत कामदार फसेको हुन सक्ने आशंकामा उद्धार तथा खोजी टोली परिचालन गरिएको थियो ।




