विद्युत् प्राधिकरणको नाफा पौने ४ अर्बले घट्यो

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ मा करअघिको नाफा ३ अर्ब ८७ करोड रुपैयाँले घटेर ५ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा प्राधिकरणले ८ अर्ब ९१ करोड रुपैयाँ करअघिको नाफा गरेको थियो ।

प्राधिकरणका अनुसार विदेशी विनिमय दरमा भएको वृद्धिका कारण संस्थाले बेहोर्नुपर्ने दायित्व २७२.८६ प्रतिशतले बढेर ११ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । विदेशी विनिमय दायित्वसँगै ब्याज तथा ह्रासकट्टी खर्च बढ्दा करअघिको नाफा प्रभावित भएको हो ।

यद्यपि, विद्युत् बिक्री, चुहावट नियन्त्रण, निर्यात वृद्धि तथा कार्यसम्पादन सुधारका कारण प्राधिकरणको समग्र वित्तीय अवस्था भने सुधारिएको छ । आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्री तथा अन्य आम्दानीबाट प्राधिकरणले १ खर्ब ६६ अर्ब रुपैयाँ कुल आम्दानी गरेको छ । विद्युत् बिक्रीबाट मात्रै १ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ आम्दानी भएको छ, जुन अघिल्लो वर्षको तुलनामा १८.२० प्रतिशत बढी हो ।

प्राधिकरणको कुल नाफा १३.१७ प्रतिशतले बढेर ३१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ७.२८ प्रतिशतले वृद्धि भएर २४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा प्राधिकरणको कुल सम्पत्ति ८.९ प्रतिशतले बढेर ७ खर्ब ७९ अर्ब १९ करोड २० लाख रुपैयाँ पुगेको छ । निर्माणाधीन पुँजीगत आयोजनामा २ खर्ब ६ अर्ब २६ करोड ७० लाख रुपैयाँ लगानी रहेको प्राधिकरणले जनाएको छ । सो अवधिमा ७४ अर्ब ६ करोड ६० लाख रुपैयाँ पुँजीकरण भएको छ ।

प्राधिकरणका अनुसार ५ एम्पियरका २५ लाख ८८ हजार ६२४ घरेलु ग्राहकलाई २१ करोड ७३ लाख ३२ हजार १६६ युनिट विद्युत् निःशुल्क उपलब्ध गराइएको छ ।

प्राधिकरणको औसत विद्युत् बिक्री दर प्रतियुनिट ९.६८ रुपैयाँ रहेको छ भने प्रतिग्राहक औसत खपत बढेर २,०८८ युनिट पुगेको छ । अनलाइन माध्यमबाट मात्रै ४० अर्ब ९९ करोड रुपैयाँ महसुल सङ्कलन भएको छ । अघिल्लो आर्थिक वर्षमा अनलाइनमार्फत ३४ अर्ब ३३ करोड रुपैयाँ महसुल उठेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *