विद्युत् प्राधिकरण सिमराको बक्यौता ७ अर्ब ८१ करोड

बारा । नेपाल विद्युत् प्राधिकरण सिमरा वितरण केन्द्रअन्तर्गत आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उठाउनुपर्ने विद्युत् बक्यौता रकम ७ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

प्राधिकरणले गत आर्थिक वर्षको वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त बक्यौता रकम सार्वजनिक गरेको हो। बक्यौताको ठूलो हिस्सा बारा–पर्सा औद्योगिक करिडोरका ठूला उद्योगले प्रयोग गरेको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल रहेको छ।

सिमरा वितरण केन्द्रका प्रमुख इन्जिनियर माधव महतका अनुसार चार ठूला उद्योगको मात्रै ७ अर्ब २१ करोड रुपैयाँ बक्यौता रहेको छ। हुलास स्टिल, जगदम्बा स्टिल, अशोक स्टिल र हामा आइरनको बक्यौता ठूलो रहेको प्राधिकरणले जनाएको छ।

यीमध्ये जगदम्बा स्टिलको मात्रै १ अर्ब ६० करोड रुपैयाँ बक्यौता रहेको छ। प्राधिकरणका तत्कालीन कार्यकारी प्रमुख कुलमान घिसिङको कार्यकालमा जगदम्बा स्टिलले एक किस्ता तथा अन्य तीन उद्योगले दुई किस्ता रकम बुझाएका थिए।

तर, गत वर्षको मंसिरदेखि उद्योगहरूले ट्रंक तथा डेडिकेटेड लाइनको किस्ता बुझाउन छाडेको प्रमुख इन्जिनियर महतले बताए। उनका अनुसार बीचमा एकपटक पत्राचार भए पनि त्यसपछि बक्यौता भुक्तानीका विषयमा थप प्रगति हुन सकेको छैन।

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौताका कारण सिमरा वितरण केन्द्रको विद्युत् महसुल असुली शतप्रतिशत हुन नसकेको प्राधिकरणले जनाएको छ।

सिमरा वितरण केन्द्रअन्तर्गत औद्योगिक ग्राहकबाट मात्रै वार्षिक करिब ४ अर्ब ६७ करोड रुपैयाँ राजस्व उठ्ने गरेको छ। केन्द्रमा बारा–पर्सा औद्योगिक करिडोरका उद्योगसहित करिब ४२ हजार उपभोक्ता आबद्ध छन्।

केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा कुल ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ४ अर्ब ४२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। विद्युत् उपभोग बढेसँगै गत वर्ष राजस्वमा ७७ करोड १० लाख रुपैयाँ वृद्धि भएको प्राधिकरणले जनाएको छ।

पछिल्लो आर्थिक वर्षमा सिमरा वितरण केन्द्रमा ८८० जना नयाँ ग्राहक थपिएका छन्। केन्द्रका प्रमुख महतका अनुसार करिब २ हजारभन्दा बढी नयाँ ग्राहक थपिनुपर्ने भए पनि मिटर अभावका कारण अपेक्षाअनुसार ग्राहक थप्न सकिएको छैन।

प्राधिकरणले गत आर्थिक वर्ष विद्युत् लाइन काटेर ११ करोड ६० लाख रुपैयाँ बक्यौता असुली गरेको छ। केन्द्रअन्तर्गत विद्युत् चुहावट भने २ दशमलव ०६ प्रतिशतमा सीमित रहेको छ।

वितरण केन्द्रले ११ केभी लाइनको मर्मतसम्भारलगायतका सुधारका कामसमेत अघि बढाएको छ। जीतपुरसिमरा–१६ स्थित पिलुवा सबस्टेसनदेखि वडा नम्बर ४ को औराहासम्म विशेष आर्थिक क्षेत्र (सेज) का लागि ३३ केभी प्रसारण लाइन सञ्चालनमा ल्याइएको छ।

त्यस्तै, सिमरा वितरण केन्द्रअन्तर्गत विद्युत् बिक्रीसमेत बढेको छ। आर्थिक वर्ष २०८१/८२ मा ५७ करोड ३९ लाख युनिट विद्युत् बिक्री भएकोमा आर्थिक वर्ष २०८२/८३ मा ६६ करोड ७४ लाख युनिट पुगेको छ। एक वर्षमा विद्युत् खपत ९ करोड ३४ लाख युनिटले बढेको प्रमुख महतले बताए।

सिमरा वितरण केन्द्रअन्तर्गत निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिकाका १८ वडा, वीरगञ्ज महानगरपालिकाका वडा नम्बर २९, ३१ र ३२, पर्सागढी नगरपालिकाका ६ वडा तथा सखुवाप्रसौनी गाउँपालिकाको वडा नम्बर १ लगायतका क्षेत्र पर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *