काठमाडौँ । प्रणालीमा तरलता थुप्रिएपछि वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम जारी छ। जसअनुसार वाणिज्य बैंकहरूले भदौ महिनाका लागि पनि ब्याजदर घटाएर नयाँ सार्वजनिक गरेका छन्।सार्वजनिक विवरणअनुसार भदौ महिनाका सबैभन्दा बढी ब्याज घटाउनेमा सिद्धार्थ बैंक रहेको छ।
साउन महिनाको तुलनामा भदौमा व्यक्तिगत र संस्थागत दुवैतर्फको औसत ब्याजदर घटेको छ। भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकमध्ये ५ वटा बैंकले आफ्नो अघिल्लो महिनाको ब्याजदर घटाएका छन् भने बाँकी १५ वटाले पुरानै ब्याजदरलाई निरन्तरता दिएका छन्।
सबैभन्दा धेरै ब्याजदर घटाउनेमा सिद्धार्थ बैंकपछिनेपाल बैंक रहेको छ। सिद्धार्थ बैंकले व्यक्तिगत तर्फ ०.२९ प्रतिशत र संस्थागत तर्फ ०.२० प्रतिशतले ब्याजदर कटौती गरेको छ। त्यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशतले ब्याजदर घटाएको छ।
त्यस्तै, सिटिजन्स बैंक इन्टरनेसनलले व्यक्तिगतमा ०.१ प्रतिशतले ब्याजदर घटाउँदा कुमारी बैंकले व्यक्तिगतमा ०.०९ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ०.०५ प्रतिशतले ब्याजदर कम गरेका छन्। यी तीन वटै बैंकले संस्थागत तर्फको ब्याजदर भने साउन महिनाकै स्थिर राखेका छन्।
यद्यपि, अधिकांश वाणिज्य बैंकहरूले भने साउन महिनाकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन्।
नबिल, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, कृषि विकास, नेपाल एसबिआई, एभरेष्ट, हिमालयन, लक्ष्मी सनराइज, एनआइसी एसिया, राष्ट्रिय वाणिज्य, प्राइम कमर्सियल र ग्लोबल आइएमई गरी १५ वटा बैंकले आफ्नो व्यक्तिगत र संस्थागत दुवै मुद्दती ब्याजदरमा कुनै परिवर्तन गरेका छैनन्।
अघिल्लो महिनाको विपरीत, घट्दो ब्याजदरको यस प्रवृत्तिका बिच भदौ महिनाका लागि भने कुनै पनि वाणिज्य बैंकले आफ्नो ब्याजदर बढाएका छैनन्।
नयाँ ब्याजदर अनुसार भदौ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर नबिल बैंक र प्रभु बैंकले नै दिनेछन्। यी दुई बैंकले व्यक्तिगत तर्फ अधिकतम ४.५५ प्रतिशत ब्याजदर तोकेका छन्।
अर्कोतर्फ, व्यक्तिगत मुद्दतीमा सबैभन्दा कम ब्याजदर कुमारी बैंक र सिद्धार्थ बैंकको रहेको छ, जहाँ ग्राहकले अधिकतम ३.७६ प्रतिशत मात्र ब्याज पाउनेछन्।
संस्थागत मुद्दती निक्षेपको हकमा भने नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, नेपाल बैंक, एभरेष्ट र हिमालयन बैंकले सबैभन्दा धेरै ३.५ प्रतिशत ब्याज दिनेगरी तोकेका छन् ।
प्रभु बैंक, कृषि विकास, नेपाल एसबिआई, प्राइम कमर्सियल, ग्लोबल आइएमई र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम अर्थात् २.७५ प्रतिशत मात्र ब्याजदर तोकेका छन्।
कुन बैंकको ब्याजदर कति ?






