नाइमा मोबिलिटी एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आइतबार समापन हुँदैछ। साउन २६ गतेदेखि सुरु भएको एक्स्पोमा पाँच दिनमै डेढ लाखभन्दा बढी अवलोकनकर्ता पुगेका छन्।

नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)का अनुसार शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका थिए। यससँगै पाँच दिनमा एक्स्पोमा पुग्नेको सङ्ख्या एक लाख ५० हजार नाघेको हो।

नाइमा ६ दिनमा करिब डेढ लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यसहित एक्स्पो आयोजना गरेको थियो। आयोजकका अनुसार लक्ष्यभन्दा बढी अवलोकनकर्ता पुगेपछि एक्स्पोप्रति उत्साह थपिएको छ।

एक्स्पोको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका थिए।

एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्नुका साथै आफ्ना उत्पादनबारे जानकारी दिन छुट्टाछुट्टै स्टल राखेका छन्।

छ दिनसम्म सञ्चालन हुने एक्स्पोमा विद्युतीय तथा अन्य नयाँ प्रविधिमा आधारित सवारीसाधनप्रति अवलोकनकर्ताको विशेष आकर्षण देखिएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *