नेपाल टेलिकमको खुद नाफा ४७.५८ प्रतिशतले बढ्यो, अधिकांश सूचकमा उलेख्य प्रगति

काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु. ८ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७.५८ प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा रु. ६ अर्ब ६७ लाख थियो। एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफा रु. २ अर्ब ८५ करोड ७९ लाखले वृद्धि भएको हो।

कम्पनीको करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ। गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा रु. १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ। अघिल्लो आवमा यस्तो मुनाफा रु. ९ अर्ब ८५ करोड २ लाख रहेको थियो। यसअनुसार करअघिको मुनाफा ३४.६६ प्रतिशतले वृद्धि भएको हो।

त्यस्तै, कम्पनीको कुल सञ्चालन आय रु. ३४ अर्ब ९५ करोड ४ लाख पुगेको छ। अघिल्लो आवको सोही अवधिमा यस्तो आय रु. ३३ अर्ब ८९ करोड ४५ लाख थियो। यस अवधिमा सञ्चालन आय रु. १ अर्ब ५ करोड ५९ लाख अर्थात् ३.१२ प्रतिशतले बढेको हो।

कम्पनीको कुल आय पनि बढेर रु. ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ। अघिल्लो आवमा कुल आय रु. ३८ अर्ब १८ करोड ८१ लाख रहेको थियो। कम्पनीको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी (ईपीएस) रु. ४९.२५ रहेको छ।

ब्याजदर घट्दा कम्पनीको ब्याज आम्दानी भने अघिल्लो वर्षको तुलनामा रु. ८६ करोड १९ लाख अर्थात् २२.८८ प्रतिशतले घटेको छ। यद्यपि, मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा वृद्धि भएका कारण सञ्चालन आय र मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ।

विशेषगरी जिएसएम सेवातर्फको राजस्व रु. ६४ करोड ५४ लाख अर्थात् २.२८ प्रतिशतले बढेको छ। जिएसएम सेवाको आम्दानी वृद्धि, सञ्चालन खर्च तथा वित्तीय व्यवस्थापनमा भएको सुधारले समग्र मुनाफा बढाउन योगदान गरेको देखिन्छ।

नेपाल टेलिकमले व्यावसायिक रूपमा कम प्रतिफल प्राप्त हुने भए पनि राष्ट्रिय सञ्चार पूर्वाधारको जिम्मेवारीलाई ध्यानमा राख्दै दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ। आगामी दिनमा सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको विस्तार, नेटवर्क विस्तार तथा डेटा र डिजिटल सेवाको प्रयोग बढाउने विषयलाई प्राथमिकता दिने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *