काठमाडौं । अटो फाइनान्सिङतर्फ कर्जा प्रवाह बढ्दै गएसँगै जोखिम व्यवस्थापन, कर्जा पहुँच तथा सवारी बीमा दाबी प्रक्रियालाई सहज र पारदर्शी बनाउन सरोकारवालाले जोड दिएका छन्।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ अन्तर्गत बिहीबार आयोजित ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक नाइमा मोबिलिटी संवादमा सहभागीहरूले अटोमोबाइल क्षेत्रमा वित्तीय पहुँच विस्तारसँगै जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका हुन्।
नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले सवारी कर्जामा जोखिम न्यूनीकरणका लागि लोन टु भ्यालु (एलटीभी) अनुपात महत्त्वपूर्ण रहेको बताए। उनका अनुसार हायर पर्चेज कर्जामा सुरुमा ५० प्रतिशत रहेको एलटीभी अनुपात अहिले विद्युतीय सवारीमा ८० प्रतिशत र इन्धनबाट चल्ने सवारीमा ६० प्रतिशत कायम गरिएको छ।
उनले ब्याजदर बढ्दा ऋणीलाई समस्या पर्न सक्ने भएकाले कर्जाको जोखिम व्यवस्थापन आवश्यक रहेको बताए। उनका अनुसार कुल करिब ६० खर्ब रुपैयाँ कर्जामध्ये हायर पर्चेज कर्जाको हिस्सा १ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। यस्तो कर्जा गत वर्षको तुलनामा १० प्रतिशतले बढेको उनले जानकारी दिए।
सुवेदीले अटो कर्जामा तत्कालै ठूलो जोखिम वा ‘क्रेडिट बबल’ आउने अवस्था नदेखिएको पनि बताए। उनका अनुसार एउटा क्षेत्रमा समस्या आउँदा त्यसको प्रभाव अन्य क्षेत्रमा समेत पर्न सक्ने भएकाले राष्ट्र बैंक जोखिमप्रति सतर्क छ।
एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले सवारी बीमा दाबीमा समस्या रहेको भन्ने बुझाइलाई प्रक्रियागत जानकारीको अभावसँग जोड्नुपर्ने बताए। क्षतिको सही विवरण र आवश्यक प्रमाणसहित कागजात पेस गरे दाबी फर्छ्योट सहज हुने उनको भनाइ छ।
उनले बीमा दाबी प्रक्रियालाई थप पारदर्शी बनाउनुपर्ने बताउँदै दाबी कुन चरणमा पुगेको छ भन्ने विवरणसमेत डिजिटल ड्यासबोर्डमार्फत देखाउने व्यवस्था आवश्यक रहेको बताए। विद्युतीय सवारीको ब्याट्रीमा बीमाले ५० प्रतिशतसम्म मात्रै डिप्रिसिएसन कटौती गर्ने व्यवस्था रहेको उनले जानकारी दिए।
हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले बैंकिङ प्रणालीसम्म सहज पहुँच नपुगेका ग्राहकलाई हायर पर्चेज कम्पनीले कर्जा उपलब्ध गराउँदै आएको बताए। उनका अनुसार हालसम्म हायर पर्चेज कम्पनीहरूले करिब ४० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्, जसमध्ये ८० प्रतिशत सवारीसाधन र २० प्रतिशत मोबाइल खरिदमा गएको छ।
ठाकुरका अनुसार हायर पर्चेज कर्जा लिनेमा ४० वर्षभन्दा कम उमेर समूहको हिस्सा ६० प्रतिशत छ। बैंकको तुलनामा प्रक्रिया छोटो भएकाले आवश्यक कागजात पूरा भएका ग्राहकले केही घण्टामै कर्जा पाउन सक्ने उनले बताए।
ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले पनि पछिल्लो समय युवा र महिलामा सवारी कर्जाको आकर्षण बढेको बताए। उनका अनुसार काठमाडौंमा कर्जा माग बढी भए पनि पछिल्लो समय कर्जा विस्तार उपत्यकाबाहिरका सहरमा समेत हुँदै गएको छ।
स्थिर आम्दानी भएका ग्राहकले हायर पर्चेज कर्जा लिने क्रम बढेको उल्लेख गर्दै उनले आवश्यक कागजात पूरा भए बैंकले छोटो समयमै कर्जा प्रवाह गर्न सक्ने बताए।
समग्रमा सहभागीहरूले अटो फाइनान्सिङ विस्तारसँगै सहज कर्जा, प्रभावकारी जोखिम व्यवस्थापन र पारदर्शी बीमा दाबी प्रणाली निर्माण गर्न सके मोबिलिटी क्षेत्रको विस्तारमा थप सहयोग पुग्ने धारणा राखेका छन्।






