काठमाडौं । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबिच २ बुँदे सहमति भएको छ । सहमतिअनुसार नेकपा मसाल लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले बुधबार दुई बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशको विकास निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख छ । लुम्बिनी प्रदेशमा मसाल निकट राष्ट्रिय जनमोर्चाका एक सांसद छन् ।
त्यस्तै राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमन विरुद्धको आन्दोलनमा सहकार्य गर्ने सहमतिको दोस्रो बुँदामा उल्लेख छ । एमाले र नेकपाबिच प्रदेशहरूमा सत्ता सहकार्य गर्ने गत साउन ९ गते सहमति भएको थियो । सोही सहमति अनुसार प्रदेशमा नयाँ सरकार फेरबदलको प्रयास भइरहेको छ ।







