काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३’ खारेज गरेको छ।
मन्त्रालयको प्रमाणीकरण शाखाले सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृत ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापनसम्बन्धी नियमावली, २०८३’ गत असार २५ गते राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आइसकेकाले पुरानो निर्देशिका खारेज गरिएको जनाएको हो।
मन्त्रालयका अनुसार नयाँ नियमावली लागू भइसकेपछि पुरानो निर्देशिका कायम रहँदा शैक्षिक परामर्श संस्था, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षा (ब्रिज कोर्स) को नियमनमा दोहोरो व्यवस्था र अन्योल उत्पन्न हुने भएकाले मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्देशिका खारेज गरिएको हो।
यससँगै अब देशभर सञ्चालनमा रहेका शैक्षिक परामर्शदाता संस्था, भाषा शिक्षण केन्द्र र तयारी कक्षाहरू नयाँ ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नियमावली, २०८३’ बमोजिम सञ्चालन गर्नुपर्नेछ।




