काठमाडौं । काठमाडौंमा आत्मदाह प्रयासपछि उपचारका क्रममा ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीका परिवारलाई नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिअनुसार सभापति थापाले आफ्नै तर्फबाट राहतस्वरूप उक्त रकम उपलब्ध गराएका हुन्।
सभापति थापाले स्वर्गीय गणेश नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै, शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।
मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले २५ असारको दिन त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको सडकमा आफ्नो मोटरसाइकलको पेट्रोल निकालेर आफैंले शरीरमा आगो लगाएका थिए । उनको भोलिपल्ट बीर अस्पतालमा निधन भएको थियो ।




