काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पौडेलमाथि रौतहटमा कालो मसी प्रहार गरिएको छ। बिहीबार राति जनतासँग भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा गढीमाई नगरपालिका–४ मा केही युवाले उनीमाथि पछाडिबाट कालो मसी प्रहार गरेका हुन्।
सांसद पौडेलले घटनाको पुष्टि गर्दै राति करिब ८ बजेतिर कार्यक्रमबाट फर्किने क्रममा आफूलाई पछाडिबाट कालो पदार्थ प्रहार गरिएको बताए।
‘कार्यक्रम सकाएर फर्किने बेला केही युवाले पछाडिबाट कालो पदार्थ फ्यालेका हुन्। उनीहरूको पहिचान भइसकेको छ,’ उनले भने।
उनका अनुसार आक्रमणकारीहरू कालोमोसो फ्यालेर उखुबारीतिर भागेका छन् । मधेसी मुक्ति अभियानका कार्यकर्ताहरूले झन्डासहित त्यहाँ नारा पनि लगाएका थिए । उनीहरूले त्यहाँ पर्चा पनि फ्यालेका छन् । सांसद पौडेलका अनुसार उनीहरुद्ये मेचीदेखि महाकालीसम्मको भूभाग मधेसको हो भनी नारा लगाएका थिए ।
साँझ कबरदाह (मुस्लिमहरूको शव गाड्ने ठाउँ) हेर्न जान उनीहरूले आफूलाई आग्रह गरेको उनले बताए । उनीहरूको आग्रहपछि सांसद पौडेलले अहिले ढिलो भयो अर्को दिन जाउला भनेर टारेका थिए । तर पछि उनीहरू नै नारा लगाएर आएको जस्तो आफूलाई लागेको सांसद पौडेलले बताए ।




