काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०० र ५०० दरका भारतीय रुपैयाँका नोट नेपालमा ल्याउन अनुमति दिएको छ। शुक्रबार जारी गरिएको सूचनाअनुसार अब एक व्यक्तिले अधिकतम २५ हजार भारतीय रुपैयाँसम्मका २०० र ५०० दरका भारतीय नोट साथमा ल्याउन सक्नेछन्।
यसअघि २५ हजार भारतीय रुपैयाँसम्म ल्याउन पाउने व्यवस्था भए पनि १०० रुपैयाँ वा सोभन्दा कम दरका नोट मात्रै ल्याउन पाइन्थ्यो।
यसले गर्दा भारतबाट नेपाल आउने पर्यटक वा भारतमा रोजगारी गरेर फर्कनेहरूलाई सास्ती हुँदै आएको थियो । ५०० दरका नोट ल्याउन पाउने भएपछि यो सास्ती हट्नेछ । २ हजार दरको नोटको प्रतिबन्ध भने अहिले पनि कायमै छ ।
तर, यसरी ल्याउने नोटहरू भारत सरकारले सन् २०१६ को नोभेम्बर वा सोभन्दा पछि जारी नोट हुनुपर्ने उल्लेख गरिएको छ । भारतले नोटबन्दी गरेपछि बन्द नेपालमा ठूला दरका भारतीय नोट ओसारपसारमा प्रतिबन्ध लगाइएको थियो ।




