काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ मा करिब ४ खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ। भन्सार विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त परिमाणमा पेट्रोलियम पदार्थ आयात भएको पाइएको छ ।
तथ्यांकअनुसार सबैभन्दा बढी डिजेल आयात भएको छ। विभागकाअनुसार १ खर्ब ७२ अर्ब ४२ करोड ८७ लाख २३ हजार रुपैयाँ बराबरको १३ लाख ९३ हजार ३ सय ३४ किलोलिटर डिजेल आयात भएको छ । डिजेल आयातबाट मात्रै राज्यले ५७ अर्ब ७० करोड ३९ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
डिजेलपछि दोस्रो बढी आयात हुने इन्धनमा पेट्रोल रहेको छ । ७७ अर्ब २६ करोड ५० लाख ११ हजार रुपैयाँ बराबरको ७ लाख ५१ हजार ६ सय ४२ किलोलिटर पेट्रोल आयात भएको छ । यसबाट राज्यले ४० अर्ब ४८ करोड ४१ लाख ४ हजार रुपैयाँ राजस्व उठाएको छ।
त्यस्तै, नेपाली भान्छामा प्रयोग हुने खाना पकाउने एलपी ग्यासको आयात पनि नेपालको अर्थतन्त्रका लागि निकै ठूलो चुनौतीका रूपमा देखिएको छ । एक वर्षमा ६० अर्ब २८ करोड ६ लाख २४ हजार रुपैयाँको ५२ करोड ५ लाख २५ हजार १ सय ९२ केजी (करिब ५ लाख २० हजार मेट्रिक टन) एलपी ग्यास आयात भएको छ । यसबाट सरकारले ११ अर्ब २४ करोड २६ लाख ८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
यसैगरी, हवाई इन्धन (एटीएफ) को आयात मूल्य २६ अर्ब ६४ करोड ५० लाख ४२ हजार रुपैयाँ रहेको छ । यसको आयात परिमाण २ लाख १३ हजार ६ सय ४३ किलोलिटर रहेको छ भने यसबाट ३ अर्ब ९७ करोड ९ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ । ६७ करोड ७४ लाख ४३ हजार रुपैयाँको ६ हजार ९ सय २८ किलोलिटर मट्टितेल आयात भएको छ, जसको कुल मूल्य रहेको छ।
पेट्रोलियम पदार्थबाहेक कोइलाको आयात पनि उल्लेख्य देखिएको छ । १७ अर्ब ९८ करोड १५ लाख रुपैया १ अर्ब ३३ करोड १ लाख ७३ हजार केजी कोइला आयात भएको छ । जसबाट राज्यले ४ अर्ब ९ करोड ३७ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
नेपालमा खपत हुने अधिकांश मुख्य पेट्रोलियम पदार्थ भारतबाट मात्र आयात हुने गरे पनि केही विशेष प्रकारका इन्धन, लुब्रिकेन्ट्स र बेस आयलहरू भने अस्ट्रेलिया, चीन, बहराइन, कतार, सिंगापुर र इटाली लगायतका देशहरूबाट पनि आयात हुने गरेको तथ्यांकले देखाउँछ ।




