काठमाडौँ । नेपाल राष्ट्र बैंकले नगद विदेशी मुद्रा नेपाल भित्र्याउने र बाहिर लैजाने सम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ। विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम जारी गरिएको व्यवस्थाअनुसार यसअघिको सूचना परिमार्जन गरिएको हो।
सूचनाअनुसार अब नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५ हजारसम्म वा सो बराबरको अन्य विदेशी मुद्रा भन्सार घोषणा नगरी नेपालमा ल्याउन वा यहाँबाट बाहिर लैजान पाउनेछन्। भारतीय रुपैयाँको हकमा पनि अमेरिकी डलर ५ हजार बराबरको रकमसम्म घोषणाबिना ल्याउन र लैजान पाइने व्यवस्था छ।
तर, ५ हजार अमेरिकी डलरभन्दा बढीको विदेशी मुद्रा वा सो बराबरको भारतीय रुपैयाँ ल्याउँदा वा लैजाँदा भने अनिवार्य रूपमा भन्सार घोषणा गरी प्रमाणित गराउनुपर्नेछ। विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत सोही सीमा लागू हुने बैंकले स्पष्ट पारेको छ।
भारतीय नोटको सन्दर्भमा बैंकले सन् २०१६ नोभेम्बर ९ भन्दा अगाडि चलनचल्तीमा रहेका भारु ५ सय र १ हजार दरका पुराना नोटहरूको कारोबारमा पूर्ण प्रतिबन्ध लगाएको छ। यद्यपि, सो मिति पश्चात् निष्कासन भई हाल भारतमा चलनचल्तीमा रहेका भारु २ सय र ५ सय दरका नोटहरू भने नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति २५ हजार सम्म प्रचलित व्यवस्थाअनुसार ल्याउन, लैजान र सटही गर्न सक्नेछन्।
राष्ट्र बैंकले भारतबाहेक तेस्रो मुलुकमा भारतीय रुपैयाँ लैजान वा त्यहाँबाट नेपाल ल्याउन नपाइने व्यवस्था पनि यथावत् रहेको जनाएको छ। नयाँ सूचना राजपत्रमा प्रकाशित भएसँगै २०८२ भदौ १० गते जारी गरिएको अघिल्लो सूचना खारेज भएको राष्ट्र बैंकले जनाएको छ।




