काठमाडौं। नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी ‘प्रोटोन इमास ५’ सार्वजनिक गरेको छ। कम्पनीले बिक्री तथा बिक्रीपछिको सेवा विस्तारका क्रममा आज भक्तपुरको राधे–राधेमा अत्याधुनिक सुविधासहित नयाँ शोरुम तथा सेवा केन्द्रसमेत सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार मंगलबारदेखि सञ्चालनमा आएको भक्तपुर शाखा पूर्वाधार र सेवाका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सेवा केन्द्रमध्ये एक हो। ग्राहकलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले बिक्री तथा सेवा सञ्जाल विस्तारलाई तीव्रता दिइएको कम्पनीले जनाएको छ।
प्रोटोन ब्रान्डप्रति ग्राहकको बढ्दो आकर्षण र विश्वासलाई ध्यानमा राख्दै देशभर सेवा पहुँच विस्तार गर्ने योजना अघि बढाइएको जगदम्बा मोटर्सको भनाइ छ। भक्तपुरपछि आगामी सातादेखि वीरगन्ज, जनकपुर र नेपालगन्जमा पनि नयाँ आधिकारिक शोरुम सञ्चालनमा ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ।
यसअघि जगदम्बा मोटर्सले काठमाडौंको नक्साल र थापाथलीसहित विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढीबाट प्रोटोनका सवारीसाधनको बिक्री तथा बिक्रीपछिको सेवा दिँदै आएको थियो।
थप शाखा सञ्चालनमा आएपछि ग्राहकले देशका विभिन्न स्थानबाट प्रोटोनका सवारीसाधन खरिद गर्नुका साथै मर्मतसम्भार र अन्य बिक्रीपछिका सेवा सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीको दाबी छ।
जगदम्बा मोटर्सले सन् २०१८ देखि नेपालमा प्रोटोन ब्रान्डका सवारीसाधनको आधिकारिक बिक्री वितरण गर्दै आएको छ। मलेसियाको राष्ट्रिय अटोमोबाइल ब्रान्ड प्रोटोनले सन् २०१७ मा चिनियाँ अटोमोबाइल निर्माता जिलीसँग रणनीतिक साझेदारी गरेपछि आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारलाई तीव्रता दिएको हो।
कम्पनीका अनुसार प्रोटोन इमास पछिल्लो समय मलेसियाको विद्युतीय सवारीसाधन बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको छ। नेपालसहित अन्य अन्तर्राष्ट्रिय बजारमा पनि विद्युतीय सवारीसाधनको माग बढिरहेका बेला प्रोटोनले आफ्नो विद्युतीय सवारी पोर्टफोलियो विस्तार गरिरहेको जनाएको छ।




