१ करोड ७१ लाख घुस प्रकरणमा प्रदीप अधिकारीविरुद्ध अर्को मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारी विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको छ ।

यसअघि नै केही मुद्दा दायर भइसकेका उनीविरुद्ध अख्तियारले मङ्गलबार भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले अधिकारीले पदीय दुरुपयोग गरी १ करोड ७१ लाख रुपैयाँ घुस लिएको र उक्त रकमलाई जग्गा खरिदमा प्रयोग गरी शुद्धीकरण गरेको जिकिर गरेको छ ।

अख्तियारको आरोपपत्र अनुसार, महानिर्देशक पदमा रहँदा अधिकारीले प्राधिकरणबाट सञ्चालित विभिन्न ठेक्कापट्टाको स्वीकृति, रेखदेख र भुक्तानीमा सहजीकरण गरिदिए बापत गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकालसँग १ करोड ७१ लाख रुपैयाँ घुस लिएका थिए। उक्त घुसको रकम लुकाउन अधिकारीले गैरकानुनी स्रोतलाई वैध देखाउने नियतले श्रीमतीको नाममा ललितपुर महानगरपालिका-५ (हाल वडा नं १५) मा १३ आना जग्गा खरिद गरेको अनुसन्धानबाट खुलेको छ।

अधिकारीले उक्त जग्गा खरिद गर्दा सरकारी लिखतमा ९१ लाख रुपैयाँ मात्रै थैली रकम कायम गरी वास्तविक कारोबारको रकम लुकाएको अख्तियारको दाबी छ। बाँकी रहेको १ करोड ७१ लाख रुपैयाँ भने ठेकेदार कम्पनी र त्यसका सञ्चालकबाट घुसबापत प्राप्त गरी श्रीमतीको बैंक खातामार्फत कारोबार देखाएर सम्पत्ति शुद्धीकरण गरेको पुष्टि भएको आयोगको जिकिर छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *