काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले चार दिनको अन्तरमै दोस्रो पटक अन्डाको मूल्य बढाएको छ। संघले देशभरका अन्डा उत्पादक किसानको राय, परामर्श र सिफारिसका आधारमा प्रतिक्रेट ५० रुपैयाँले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो।
संघले साउन १ गते बसेको बैठकबाट साउन २ देखि लागू हुने गरी पहिलोपटक मूल्य बढाएको थियो। त्यसपछि साउन ५ गते पुनः बैठक बसेर साउन ६ देखि लागू हुने गरी दोस्रोपटक मूल्य समायोजन गरेको हो।
नयाँ मूल्यअनुसार एक्सएल अन्डाको फार्म मूल्य प्रतिक्रेट ४ सय ६५ रुपैयाँबाट बढेर ५ सय १५ रुपैयाँ पुगेको छ। ठूलो अन्डाको मूल्य ४ सय ५० रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ कायम गरिएको छ भने मिडियम अन्डाको मूल्य ४ सय २० रुपैयाँबाट बढेर ४ सय ७० रुपैयाँ पुगेको छ। सानो अन्डाको मूल्य प्रतिपेटी २ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ।
मूल्यवृद्धिसँगै उपभोक्ताले अब प्रतिगोटा अन्डाका लागि २५ रुपैयाँ तिर्नुपर्ने भएको छ।
संघ सचिव मदन पोखरेलका अनुसार लागत मूल्य र बजार अवस्था मध्यनजर गर्दै किसानको हितका लागि यो नयाँ समर्थन मूल्य तय गरिएको दाबी गरे ।




