भारतीय मिडियाले भन्यो – नेपाल झुक्यो, एक रुपैयाँको सिक्काबाट विवादित नक्सा हटाउने भयो’

काठमाडौं । सरकारले जारी गर्न लागेको नयाँ एक रुपैयाँको सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको राजनीतिक नक्सा हटाउने निर्णय गरेसँगै भारतले यसलाई आफ्नो ठूलो कूटनीतिक सफलताका रूपमा व्याख्या गरेको छ।

आजतक लगायतका भारतीय सञ्चारमाध्यमहरूले नेपालले विवादित क्षेत्र समेटिएको नक्सा सिक्काबाट हटाएर भारतप्रति आफ्नो अडान नरम बनाएको दाबी गर्दै “नेपाल झुक्यो” भन्ने शीर्षकमा समाचार प्रकाशित गरेका छन्।

सरकारले स्वीकृत गरेको नयाँ डिजाइनअनुसार एक रुपैयाँको सिक्कामा राजनीतिक नक्साको सट्टा मुस्ताङको मराङ गाउँस्थित ऐतिहासिक लो घ्याकर गुम्बाको चित्र राखिनेछ। यद्यपि, दुई रुपैयाँको सिक्कामा रहेको राजनीतिक नक्सा भने यथावत् रहने सरकारी स्रोतले जनाएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार सिक्काको आकार र तौल घटाउने तथा उत्पादन लागत कम गर्ने उद्देश्यले नयाँ डिजाइन प्रस्ताव गरिएको हो। नयाँ सिक्का स्टिलबाट निर्माण हुने र यसको रंग पहेंलोको सट्टा स्टिल–सेतो हुनेछ।

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ। त्यसको प्रतिवादस्वरूप तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०२० मा ती क्षेत्र समेटिएको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो।

यसैबीच, नेकपा नेता भीम रावलले एक रुपैयाँको सिक्काबाट नयाँ राजनीतिक नक्सा हटाउने निर्णयलाई नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको गम्भीर प्रहार भएको टिप्पणी गर्दै सरकारसँग तत्काल स्पष्टिकरण समेत माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *