सार्वजनिक बिदा पुनरवलोकन गर्न सरकारद्वारा कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

काठमाडौँ । सरकारले हाल कायम रहेका सार्वजनिक बिदाहरूको पुनरवलोकन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ। हप्तामा शनिबार र आइतबार दुई दिन बिदा दिने व्यवस्था लागू भएपछि साविकका अन्य बिदाको सङ्ख्या, आवश्यकता र औचित्यमाथि अध्ययन गर्न कार्यदल गठन गरिएको हो।

नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीको अध्यक्षतामा बसेको सचिवहरूको सोमबारको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि जारी विज्ञप्तिमा गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा कार्यदल गठन गर्ने उल्लेख गरिएको छ।

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि रहनेछन्।

सरकारले कार्यदललाई साविकका सार्वजनिक बिदाहरूको अध्ययन तथा पुनरवलोकन गरी १५ दिनभित्र प्रतिवेदन तयार पार्न समयसीमा तोकेको छ। कार्यदलले तयार पारेको प्रतिवेदन गृह मन्त्रालयमा पेश गर्नुपर्नेछ।

हप्तामा दुई दिन बिदा दिने व्यवस्थाले सरकारी सेवा प्रवाह र कार्यसम्पादनमा पारेको प्रभावलाई समेत ध्यानमा राख्दै सार्वजनिक बिदालाई व्यवस्थित र आवश्यकताअनुसार परिमार्जन गर्ने उद्देश्यले कार्यदल गठन गरिएको सरकारले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *