शुक्लाफाँटामा सम्पर्कविहीन भएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

कैलाली । च्याउ खोज्न जाँदा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बेपत्ता भएका भीमदत्त नगरपालिका-१९, बागफाँटाका १४ जना महिला परिवारको सम्पर्कमा आएका छन् ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले उनीहरू सबै सम्पर्कमा आएको जानकारी दिए ।

आइतबार बिहान च्याउ टिप्न निकुञ्जमा प्रवेश गरेका उनीहरू राति अबेरसम्म घर नआएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले आज बिहानैदेखि उनीहरूको खोजी गरिरहेको थियो । खोजीकै क्रममा उनीहरू सम्पर्कमा आएको प्रजिअ कोइरालाले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोस्टबाट निकुञ्जभित्र प्रवेश गरेका दशरथ टोलका सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार सम्पर्कविहीन भएका थिए ।

जंगलमा गएका १४ जनामध्ये कसैले पनि मोबाइल नलगेकाले उहाँहरूसँग सम्पर्क हुन सकेको थिएन ।

नेपाल सेना, नेपाल प्रहरी तथा स्थानीयवासीको संयुक्त टोलीले खोजी कार्य गरिरहेका बेला महिलाहरू आफैं सुरक्षित रूपमा घर पुगेका हुन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *