वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी

काठमाडौं — आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या अघिल्लो वर्षको तुलनामा घटेको छ। वैदेशिक रोजगार विभागका अनुसार नयाँ तथा पुनः श्रम स्वीकृतिसहित गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ जनाले श्रम स्वीकृति लिएका छन्।

यो संख्या आर्थिक वर्ष २०८१/८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५.६ प्रतिशतले कम हो।

नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण योगदान रहेको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ।

विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान तनावका कारण खाडी मुलुकतर्फका हवाई उडान प्रभावित हुँदा नेपाली कामदारको विदेश प्रस्थानमा समेत असर परेको थियो।

गत आर्थिक वर्षमा जारी भएका श्रम स्वीकृतिमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला रहेका छन्।

यसअनुसार कुल श्रम स्वीकृतिमा पुरुषको हिस्सा ८८ प्रतिशत र महिलाको १२ प्रतिशत रहेको छ। तथ्यांकले वैदेशिक रोजगारी अझै पनि मुख्यतः पुरुषकेन्द्रित रहेको देखाउँछ।

इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) मार्फत विदेश जानेको संख्या उल्लेखनीय रूपमा घटेको छ।

विभागका अनुसार गत आर्थिक वर्षमा म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९९० जना विदेश गएका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या ३ लाख ५९ हजार ६७५ थियो।

यता, व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको संख्या भने १ लाख २८ हजार ५२० पुगेको छ। तीमध्ये ९८ हजार ८४१ पुरुष र २९ हजार ६७९ महिला छन्।

व्यक्तिगत रूपमा विदेश जानेमध्ये महिलाको हिस्सा २३.०९ प्रतिशत पुगेको छ, जुन म्यानपावर कम्पनीमार्फत विदेश जाने महिलाको अनुपातभन्दा उल्लेखनीय रूपमा बढी हो।

सरकार–सरकार (जीटूजी) प्रणालीमार्फत गत आर्थिक वर्षमा ८ हजार १९७ नेपाली कामदार विदेश गएका छन्। तीमध्ये ६ हजार ९४५ पुरुष र १ हजार २५२ महिला रहेका छन्।

गन्तव्य मुलुकका हिसाबले संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली कामदारको प्रमुख रोजाइमा परेको छ। गत आर्थिक वर्षमा १ लाख ८३ हजार ५८० जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्, जुन कुल स्वीकृतिको २३.१७ प्रतिशत हो।

यूएईपछि मलेसियामा १ लाख ३२ हजार ६४६, कतारमा १ लाख ३२ हजार ५१, साउदी अरेबियामा १ लाख २४ हजार ५८३ र कुवेतमा ४३ हजार ३६० जनाले श्रम स्वीकृति लिएका छन्।

यी पाँच मुलुकमा मात्रै ६ लाख १६ हजार २२० नेपाली पुगेका छन्, जुन कुल श्रम स्वीकृतिको ७७.७९ प्रतिशत हो।

युरोपेली गन्तव्यमध्ये रोमानिया सबैभन्दा अगाडि रहेको छ। विभागका अनुसार गत आर्थिक वर्षमा ३३ हजार ९२० जनाले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन्।

त्यसपछि जापानमा २२ हजार २६६, ओमानमा ११ हजार ६३३, साइप्रसमा ११ हजार ६९ र बहराइनमा ९ हजार ३३६ नेपाली कामदार पुगेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *