स्पेनले अर्जेन्टिनालाई सहजै हराउने रोनाल्डोको भविष्यवाणी

काठमाडौँ । ब्राजिली फुटबलका महान् खेलाडी रोनाल्डो नाजारियोले फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनले साबिक विजेता अर्जेन्टिनालाई पराजित गर्दै उपाधि जित्ने भविष्यवाणी गरेका छन्। स्पेनको बल नियन्त्रण गर्ने शैली नै फाइनलको निर्णायक पक्ष बन्ने उनको विश्वास छ।

रोनाल्डोले प्रतियोगिताभर स्पेनले अधिकांश खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बलमाथि नियन्त्रण कायम राखेको उल्लेख गर्दै लियोनल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनाविरुद्ध पनि यही रणनीति प्रभावकारी हुने बताए।

इएसपीएन ब्राजिलसँग कुरा गर्दै उनले भने, ‘मलाई लाग्छ स्पेनले यो खेल जित्नेछ, र त्यो पनि सजिलै।’

यस विश्वकपमा अर्जेन्टिना सन् १९६२ मा ब्राजिलपछि लगातार दोस्रो पटक विश्वकप उपाधि रक्षा गर्ने पहिलो टोली बन्ने लक्ष्यमा छ। उता, स्पेनले प्रतियोगिताका पछिल्ला सात खेलमा केवल एक गोल मात्र व्यहोरेको छ, जसले उसको रक्षापंक्तिको मजबुती पनि देखाउँछ।

रोनाल्डोले प्रतियोगिता सुरु भएदेखि नै स्पेन र फ्रान्सलाई उपाधिका प्रमुख दाबेदार मानेका थिए। यद्यपि, सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो।

अर्को सेमिफाइनलमा अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो विश्वकप उपाधि जित्ने सम्भावना कायम राखेको छ।

रोनाल्डोका अनुसार यदि स्पेनले सुरुआतमै खेलमा अग्रता बनाउन सफल भयो भने अर्जेन्टिनाका लागि पुनरागमन निकै कठिन हुनेछ।

‘मेरो लागि फ्रान्स र स्पेन सुरुदेखि नै दाबेदार टोली थिए। यदि स्पेनले एक वा दुई गोलको अग्रता लियो भने अर्जेन्टिनासँग खेलमा फर्किने क्षमता छ जस्तो मलाई लाग्दैन, किनकि स्पेनले बलमाथि सधैँ नियन्त्रण जमाउनेछ,’ उनले भने।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *