काठमाडौं — फ्रान्सका स्टार फरवार्ड किलियन एमबाप्पेले फिफा विश्वकप २०२६ को गोल्डेन बुट र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको दौडमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसीलाई पछि पारेका छन्।
आइतबार बिहान तेस्रो स्थानका लागि इंग्ल्यान्डविरुद्ध भएको खेलमा दुई गोल र एक असिस्ट गरेका एमबाप्पेले जारी विश्वकपमा आफ्नो गोल संख्या १० तथा असिस्ट चार पुर्याएका हुन्। यससँगै गोल्डेन बुटको दौडमा उनी शीर्ष स्थानमा पुगेका छन्।
फाइनलअघि मेसीको नाममा आठ गोल र चार असिस्ट छ। गोल्डेन बुट जित्न मेसीले फाइनलमा कम्तीमा दुई गोल गर्नुपर्ने अवस्था बनेको छ। दुईभन्दा कम गोल गरे एमबाप्पे लगातार दोस्रो विश्वकपमा गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन्।
विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको सूचीमा पनि एमबाप्पे अग्रस्थानमा उक्लिएका छन्। उनले तीन संस्करणको विश्वकपबाट कुल २२ गोल गरेका छन् भने मेसी ६ संस्करणमा २१ गोलसहित दोस्रो स्थानमा छन्।
एमबाप्पेले २०१८ को विश्वकपमा चार, २०२२ मा आठ र २०२६ मा हालसम्म १० गोल गरेका छन्। उनले यस संस्करणमा १० गोल पूरा गर्दै सन् १९७० मा पश्चिम जर्मनीका गेर्ड मुलरले बनाएको उपलब्धिपछि पुरुष विश्वकपको एउटै संस्करणमा दोहोरो अंकमा गोल गर्ने पहिलो खेलाडी बनेका छन्।
यसअघि विश्वकपको एउटै संस्करणमा आठ वा त्यसभन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा जस्ट फन्टेन, सान्दोर कोचिस, अडेमिर, एउसेबियो, गिलेर्मो स्टाबिले, रोनाल्डो (ब्राजिल), गेर्ड मुलर र एमबाप्पे रहेका थिए। यसपटक एमबाप्पेले आफ्नै सर्वाधिक गोलको कीर्तिमानसमेत सुधार गरेका छन्।
यता इंग्ल्यान्डका जुड बेलिङ्घमले पनि नयाँ कीर्तिमान बनाएका छन्। फ्रान्सविरुद्ध तेस्रो स्थानको खेलमा एक गोल गरेसँगै उनले प्रतियोगितामा सात गोल पूरा गर्दै विश्वकपको एउटै संस्करणमा सर्वाधिक गोल गर्ने पहिलो इंग्लिस खेलाडी बने।




