काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको लापरवाही एवम् मिलेमतोका कारण चौदण्डीगढी नगरपालिका निवासी सरिता कार्की ७४ लाख ७० हजार रुपैयाँ बराबरको ठगीको शिकार भएको तथ्य सार्वजनिक भएको छ।
अदालतमा रोक्का भएको जग्गा समेत झुक्याएर तेस्रो पक्षलाई बिक्री गरिदिएपछि आँफुले पाउनु पर्ने लाखौँ रुपैयाँ गुमाएपछि कार्कीले निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेकी छन् ।
घटना के थियो ?
कार्कीले शनिबार पत्रकार सम्मेलन गरी पाँच वर्षअघि काठमाडौंको तार्केश्वर नगरपालिका–स्थित काभ्रेस्थली, जितपुर फेदीमा रहेको ४ आना जग्गा खरिदका लागि उमामाया तामाङको नाममा सञ्चालित रियल स्टेट कम्पनीमार्फत ५४ लाख रुपैयाँ बैना बुझाएकी थिइन् । तर, जग्गा नामसारी नभई उमामाया तामाङ फरार भइन् ।
उनका अनुसार, उक्त विषयमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले २०८० वैशाख २८ गते उमामाया तामाङ र उनकी आमा च्याउँकीमाया तामाङको नाममा रहेको घरजग्गा रोक्का गबर्ने आदेश दियो। उमामाया तामाङविरुद्ध पक्राउ पुर्जीसमेत जारी भयो।
तर , अदालतको आदेशविपरीत पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, च्याउँकीमाया तामाङ तथा जग्गा रोक्का रहेको ज्योति विकास बैंकको मिलेमतोमा उक्त जग्गाको लिलाम प्रक्रिया अघि बढाइयो।
उनका अनुसार, लिलाम प्रक्रियाबारे थाहा पाएपछि उनी ज्योति विकास बैंकको नेपालटार शाखामा पुगेर सो बारे ध्यानाकर्षण गराएइन् । ‘सम्पत्ति लिलाम हुनेभए हामी दोस्रो रोक्कावाल पक्ष भएकाले बैंकसँग घरजग्गा सकार्ने पाउनु पर्छ भन्ने इच्छा व्यक्त गरेका थियौं’ कार्कीले भनिन् ।
तर, शाखा व्यवस्थापकले ‘जग्गा धनीले पैसा तिर्छु, लिलाम नगरिदिनु भन्नु भएको छ, त्यसैले तत्काल लिलाम नहुने भयो, लिलाम गर्ने अवस्थामा तपाईहरुलाई जानकारी गराउँछौं’ भनेर झुक्यायो,’ कार्कीले भनिन् ।
झुट्टा आश्वासनमा दिएर बैंकले तीन महिनापछि कुनै सूचना नदिई लिलाम प्रक्रिया सम्पन्न गरी बहादुर सिंह लामाको नाममा सम्पत्ति सकार गराइएको उनको गुनासो छ ।
कार्कीले उक्त घटनाको निष्पक्ष छानबिन गरी संलग्नमाथि कानुनबमोजिम कारवाही गर्न सम्बन्धित निकायसँग माग गरेकी छन् ।
केहि दिन अघि पनि पीडित कार्की लगायतले दुर्गा प्रसाईंको पत्रकार सम्मेलनमा गएर पनि आफ्नो पिडा व्यक्त गरेका थिए ।




