गोरखा । गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रशासन कार्यालयहरूलाई नागरिकमैत्री, छिटो र पारदर्शी सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएका छन्। उनले आवश्यक सबै कागजात पूरा गरेका सेवाग्राहीलाई अधिकतम १५ मिनेटभित्र नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय गोरखालाई विशेष निर्देशन दिएका हुन्।
शुक्रबार जिल्ला प्रशासन कार्यालय गोरखाको निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले सेवा प्रवाहमा हुने अनावश्यक ढिलासुस्ती र प्रक्रियागत झन्झट अन्त्य गर्न जोड दिए। प्रशासनिक सेवा सरल, प्रभावकारी र सेवाग्राहीको अपेक्षाअनुसार हुनुपर्ने उनको भनाइ थियो।
निरीक्षणका क्रममा उनले कार्यालयको सेवा प्रवाहको अवस्था, कर्मचारीहरूको कार्यसम्पादन, अभिलेख व्यवस्थापन प्रणाली तथा सेवाग्राहीबाट प्राप्त हुने गुनासोको व्यवस्थापनबारे विस्तृत जानकारी लिएका थिए।
गृहमन्त्री गुरुङले सुशासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाह सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै नागरिकले सरकारी कार्यालयबाट सहज र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्न कर्मचारीहरूलाई जिम्मेवार ढंगले काम गर्न आग्रह गरेका छन्।




