पेन्सन वा उपदान लिई करारमा कार्यरत कर्मचारी आजदेखि हटाइने

काठमाडौँ — सरकारले सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा निवृत्तिभरण (पेन्सन) पाइरहेका करार कर्मचारीलाई आजदेखि सेवाबाट हटाउने निर्णय कार्यान्वयनमा ल्याएको छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को असार ३२ गतेको निर्णय कार्यान्वयन गर्न जारी गरेको परिपत्रअनुसार सरकारी सेवाबाट अवकाश प्राप्त गरी उपदान लिएका वा निवृत्तिभरण पाइरहेका करार कर्मचारीलाई साउन १ गतेदेखि सेवा निरन्तरता नदिई सधन्यवाद विदाइ गरिनेछ।

सरकारले संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणबाट दरबन्दी कटौती हुने मन्त्रालय तथा मातहतका कार्यालयमा करारमा कार्यरत कर्मचारीको व्यवस्थापनसम्बन्धी निर्णयअन्तर्गत यस्तो व्यवस्था गरेको हो।

सरकारी सेवाबाट अवकाश लिएपछि पनि करारमा रही काम गरिरहेका कर्मचारी यस निर्णयबाट प्रभावित हुनेछन्। सरकारी अनुमानअनुसार यस्ता करिब ४ सय कर्मचारी विभिन्न निकायमा कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *