फिफा विश्वकप : विजेताले ट्रफी र पदकसँगै ‘च्याम्पियनसिप रिङ’ पनि पाउने

काठमाडौँ — फिफा विश्वकप २०२६ को विजेता टोलीले यसपटक ट्रफी र स्वर्ण पदकसँगै पहिलोपटक ‘च्याम्पियनशिप रिङ’ पनि प्राप्त गर्ने भएको छ। फिफाले विश्वकप इतिहासमै पहिलो पटक यस्तो परम्परा सुरु गर्न लागेको जनाएको हो।

फिफाका अनुसार फाइनल खेलपछि हुने पुरस्कार वितरण समारोहमा विजेता टोलीका कप्तान र मुख्य प्रशिक्षकलाई औपचारिक रूपमा च्याम्पियनशिप रिङ प्रदान गरिनेछ।

त्यसपछि खेलाडीहरूको औंलाको आकारअनुसार तयार गरिएका व्यक्तिगत रिङ विशेष समारोहमार्फत हस्तान्तरण गरिनेछन्।

विजेता टोलीका लागि ३० वटा च्याम्पियनशिप रिङ सुरक्षित राखिएको फिफाले जनाएको छ।

साथै, विश्वभरका समर्थकका लागि १ हजार ९ सय ९६ वटा आधिकारिक रूपमा इजाजतप्राप्त, व्यक्तिगत नम्बर अंकित सीमित संस्करणका रिङ बिक्रीका लागि उपलब्ध गराइनेछन्।

फिफाका अनुसार प्रत्येक रिङको एक भागमा फिफा विश्वकप ट्रफीको आकृति रहनेछ भने अर्को भागमा विजेता राष्ट्रको क्रेस्ट र पहिचान समेटिनेछ।

प्रत्येक रिङ व्यक्तिगत नम्बर, अनुकूलित आकार तथा प्रामाणिकताको प्रमाणपत्रसहित उपलब्ध हुनेछ।

यसबीच, विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिना आइतबार, जुलाई १९ मा न्यु जर्सी स्टेडियममा आमनेसामने हुँदैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *