काठमाडौं — अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयले सेयर बजारमा सम्पत्तिको मूल्य निरन्तर घट्ने भन्दै फैलाइएका हल्लाप्रति विश्वास नगर्न लगानीकर्तालाई आग्रह गरेको छ।
सचिवालयले सामाजिक सञ्जालमार्फत नयाँ आर्थिक वर्ष २०८३/८४ को शुभकामना सन्देश जारी गर्दै बजारलाई अस्थिर बनाउने उद्देश्यले भ्रामक प्रचार भइरहेको दाबी गरेको हो।
सचिवालयका अनुसार सरकार गठनयता सेयर बजारमा आएको गिरावटले लगानीकर्तामा निराशा र असन्तुष्टि बढेको विषयप्रति सरकार जानकार छ।
‘सम्पत्तिको मूल्य घटेको देखिँदा लगानीकर्तामा चिन्ता हुनु स्वाभाविक हो,’ सन्देशमा उल्लेख छ।
सचिवालयले सेयर बजार अर्थतन्त्रको महत्त्वपूर्ण हिस्सा भएकाले त्यसको स्थायित्वका लागि सरकारले आवश्यक नीतिगत पहल गरिरहेको जनाएको छ।
बैंकिङ प्रणालीमा पर्याप्त तरलता रहेको, ब्याजदर घट्दो क्रममा रहेको, कर नीतिमार्फत लगानी र खर्चलाई प्रोत्साहन गरिएको तथा राजस्व विवादमा रहेका करदातालाई विशेष सहुलियत उपलब्ध गराइएको दाबी पनि गरिएको छ।
सचिवालयका अनुसार स्थिर सरकार, विज्ञ नेतृत्व र नियामक निकायमा गरिएको नेतृत्व परिवर्तनले बजार सुधारका लागि योजनाबद्ध रूपमा काम अघि बढिरहेको छ।
सन्देशमा नियामक निकायलाई प्रभावमा पारेर बजारमा विकृति ल्याउने प्रयास गर्ने समूहहरू अनुसन्धानको दायरामा रहेको उल्लेख गर्दै पछिल्लो समय नकारात्मक भाष्य निर्माण गरी असामान्य अवस्था सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाइएको छ।
सरकारले ‘कम बोल्ने, धेरै काम गर्ने’ नीति अपनाएको उल्लेख गर्दै सचिवालयले त्यसको फाइदा उठाएर केही समूहले परिस्थितिजन्य लाभ लिन भ्रामक सूचना फैलाइरहेको जनाएको छ।
विशेषगरी, निश्चित व्यक्तिलाई पक्राउ गर्न लागिएको वा कसैमाथि अनुसन्धान भइरहेको जस्ता अपुष्ट सूचना योजनाबद्ध रूपमा फैलाइएको भन्दै त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरिएको छ।
सचिवालयले सरकारले अफवाहका आधारमा काम नगर्ने स्पष्ट पार्दै सेयर बजारसम्बन्धी सूचना प्राप्त गर्दा क्लबहाउस, ह्वाट्सएप, म्यासेन्जर समूह वा अनौपचारिक स्रोतमा भर नपर्न लगानीकर्तालाई सुझाव दिएको छ।
लगानीअघि पर्याप्त अध्ययन गर्न, अफवाहको पछि नलाग्न र आवश्यक परे आधिकारिक सरकारी निकायबाट जानकारी लिन पनि आग्रह गरिएको छ।
सन्देशको अन्त्यमा नयाँ आर्थिक वर्ष २०८३/८४ को शुभकामना व्यक्त गर्दै लगानीकर्तालाई संयमित रहन र हल्लाको प्रभावमा नपर्न अपिल गरिएको छ।




