काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण ले आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ।
प्राधिकरणका अनुसार नयाँ व्यवस्था कार्यान्वयनका लागि बिलिङ प्रणाली अद्यावधिक गरिसकिएको छ। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत गरेको निर्णयअनुसार पहिलो ५० युनिटसम्मको विद्युत् महसुलमा भ्याट लाग्ने छैन। तर ५१ युनिट वा सोभन्दा बढी विद्युत् खपत गर्ने ग्राहकले लागू हुने विद्युत् महसुलमा ५ प्रतिशत भ्याट तिर्नुपर्नेछ।
यस व्यवस्थाअनुसार मासिक ५० युनिटसम्म विद्युत् प्रयोग गर्ने घरायसी ग्राहक अतिरिक्त भ्याटको दायरामा पर्ने छैनन्। प्राधिकरणका अनुसार देशभर ५० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको संख्या ३० लाखभन्दा बढी रहेको छ।




