काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई घुस लिएको आरोपमा ८ वर्ष कैद सजाय सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले व्यवसायी दीपक आनन्दसँग घुस मागेको आरोपमा पौडेललाई दोषी ठहर गर्दै सजाय तोकेको हो ।
अदालतले घुस दिएको आरोप लागेका व्यवसायी दीपक आनन्दलाई पनि ८ वर्ष कैद सजाय सुनाएको छ । विशिष्ट तहको पदमा रहेर भ्रष्टाचार गरेको भन्दै पौडेललाई थप ६ महिना कैद सजायसमेत तोकिएको छ ।
रकम बरामद नभएको भन्ने आधार देखाएर विशेष अदालतले उनीहरुसँग विगो कायम गरेको छैन । तर घुस लिएको भनिएको रकम तीन करोड ८ लाख रुपैंयालाई दामासाहीमा बाँडेर एक करोड ५४ लाख रुपैंयाका दरले जरिवानाको फैसला गरेको हो ।




