काठमाडौं। सरकारले शुक्रबारदेखि लागू हुने गरी नयाँ कर व्यवस्था कार्यान्वयनमा ल्याएको छ।
नयाँ व्यवस्थाअनुसार प्राकृतिक व्यक्तिको आयकर दरमा परिवर्तन गरिएको छ भने विभिन्न सेवा तथा विलासिता वस्तुमा थप शुल्क लगाइएको छ।
प्राकृतिक व्यक्तिको हकमा १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत, १० लाखदेखि २५ लाखसम्म १० प्रतिशत, २५ लाखदेखि २५ लाखसम्म २० प्रतिशत, २५ लाखदेखि ४० लाख रुपैयाँसम्म २७ प्रतिशत तथा ४० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने भागमा ३९ प्रतिशत आयकर लाग्ने व्यवस्था गरिएको छ।
यस्तै पाँचतारे वा सोभन्दा माथिका होटल, लक्जरी रिसोर्ट तथा आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क लाग्ने भएको छ। सुन, चाँदी तथा तिनका गहनाको बिक्रीमा अन्तिम उपभोक्ताबाट ०.५ प्रतिशत सौन्दर्य शुल्क असुल गरिनेछ।
निजी विद्यालयमा अभिभावकले तिर्ने शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थामा उपचार गर्दा लाग्ने खर्चमा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लाग्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, क्यासिनो सञ्चालकले तिर्ने वार्षिक रोयल्टी १.५ करोड रुपैयाँबाट बढाएर ३ करोड रुपैयाँ पुर्याइएको छ। राइड सेयरिङ सेवामा ५ प्रतिशत सेवा शुल्क थप गरिएको छ।
सरकारले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तालाई ५ प्रतिशत कर लगाउने व्यवस्था पनि गरेको छ। यसको कार्यान्वयनका लागि वैकल्पिक व्यवस्था भने अझै तय भइसकेको छैन।




