काठमाडौँ । बैंक तथा वित्तीय संस्थाका खातावालाले अब आफ्नो राष्ट्रिय परिचयपत्र नम्बर अद्यावधिक गर्नुपर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार राष्ट्रिय परिचयपत्र अनिवार्य हुनुअघि खाता खोलेका ग्राहकको विवरण बैंक तथा वित्तीय संस्थाले अद्यावधिक गर्नुपर्ने भएको हो ।
इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाले आगामी असोज मसान्तभित्र मोबाइल एप वा अन्य उपयुक्त माध्यमबाट खातावालासँग राष्ट्रिय परिचयपत्र विवरण भए/नभएको स्वघोषणा लिनुपर्नेछ ।
राष्ट्रिय परिचयपत्र लिएका नेपाली नागरिकको हकमा सम्बन्धित खातावालाको राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर लिई अद्यावधिक गर्नुपर्नेछ ।
तर, यस्तो परिचयपत्र लिई नसकेका नेपाली नागरिकको हकमा ६ महिना अर्थात् पुस मसान्तभित्र यस्तो परिचयपत्र नम्बर लिई अद्यावधिक गराउन जानकार दिनुपर्ने व्यवस्था गरिएको छ ।
यद्यपि १६ वर्षमुनिका बालबालिकाको खाता खोल्न भने यस्तो परिचयपत्र अनिवार्य नहुने राष्ट्र बैंकले प्रष्ट पारेको छ ।




