दुईदिने सार्वजनिक बिदापछि तीन महिनामा इन्धन आयात ६ करोड ९० लाख लिटर घट्यो

काठमाडौं — सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा लागू गरेपछि पछिल्ला तीन महिनामा पेट्रोलियम पदार्थको आयात उल्लेख्य रूपमा घटेको छ।

नेपाल आयल निगमका अनुसार चैत, वैशाख र जेठ महिनामा पेट्रोल र डिजेलको आयात कुल ६ करोड ९० लाख २४ हजार लिटरले घटेको छ।

निगमको तथ्यांकअनुसार तीन महिनामा पेट्रोलको आयात २ करोड ६२ लाख ७२ हजार लिटर र डिजेलको आयात ४ करोड २७ लाख ५२ हजार लिटरले घटेको हो।

यसबाट करिब १० अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिनबाट जोगिएको सरकारी अनुमान छ।

सरकारले इन्धन खपत घटाउने उद्देश्यसहित गत चैत २२ गतेदेखि हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने व्यवस्था लागू गरेको थियो।

यद्यपि, यस निर्णयको प्रभावबारे सरकारले हालसम्म औपचारिक अध्ययन सार्वजनिक गरेको छैन।

सरकारको बुझाइमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोग बढ्दै जानु र पेट्रोलबाट चल्ने सवारीको प्रयोग घट्नु पनि इन्धन खपत कम हुनुको अर्को कारण हो।

साथै, नियमविपरीत सरकारी सुविधा लिइरहेका कर्मचारी, पदाधिकारी तथा पूर्वविशिष्ट व्यक्तिबाट करिब ७ सय सरकारी सवारीसाधन फिर्ता गराइएकाले पनि इन्धन खपत घटाउन सहयोग पुगेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता हेमराज अर्यालले बताएका छन्।

निगमका अनुसार चैतमा पेट्रोल आयात ८६ लाख ३५ हजार लिटरले घट्दा करिब १ अर्ब ८९ करोड रुपैयाँ बराबरको इन्धन आयात बचत भएको थियो।

तर बिदा चैतको अन्तिम सातादेखि मात्रै लागू भएकाले सो महिना डिजेल आयात १५ लाख ८७ हजार लिटरले बढेको थियो।

वैशाखमा पेट्रोल आयात ९४ लाख ९३ हजार लिटर र डिजेल आयात ३ करोड ६३ लाख ७१ हजार लिटरले घटेको थियो।

त्यस्तै जेठमा पेट्रोल आयात ८१ लाख ४४ हजार लिटर तथा डिजेल आयात ७९ लाख ६८ हजार लिटरले कमी आएको निगमको तथ्यांकमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *