काठमाडौं– नेपालमा उच्च भोल्टेज विद्युत प्रसारण लाइनको लम्बाइ पछिल्लो ११ वर्षमा दोब्बरभन्दा बढीले बढेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा २ हजार ९११ सर्किट किलोमिटर रहेको प्रसारण लाइन आर्थिक वर्ष २०८१/०८२ सम्म आइपुग्दा ६ हजार ७६० सर्किट किलोमिटर पुगेको छ।
प्राधिकरणका अनुसार हाल १४ हजार १२३ मेगावाट क्षमताका सबस्टेसन सञ्चालनमा छन् भने २ हजार २४ सर्किट किलोमिटर प्रसारण लाइन र ६ हजार ३३८ मेगावाट क्षमताका सबस्टेसन निर्माणाधीन छन्।
एक दशकअघि ६६ केभी र १३२ केभी प्रसारण लाइनमा सीमित रहेको राष्ट्रिय ग्रिडमा अहिले २२० केभी र ४०० केभी क्षमताका प्रसारण लाइन पनि विस्तार भएका छन्। आर्थिक वर्ष २०७३/०७४ मा पहिलोपटक २२० केभी र ४०० केभी लाइन सञ्चालनमा आएका थिए।
तथ्यांकअनुसार सबैभन्दा धेरै १७.९१ प्रतिशत विस्तार आर्थिक वर्ष २०७५/०७६ मा भएको थियो भने आर्थिक वर्ष २०८१/०८२ मा प्रसारण लाइन २५२ सर्किट किलोमिटर थपिँदै ३.८७ प्रतिशतले बढेको छ।
बढ्दो जलविद्युत उत्पादन, आन्तरिक विद्युत खपत र निर्यातलाई लक्षित गर्दै उच्च क्षमताको प्रसारण पूर्वाधार विस्तारलाई प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ।




